काठमाडौं-प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो । पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।
उहाँको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयो । त्यस लगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ।
दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उहाँको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।
आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उहाँका छोरीहरू रेणु र गङ्गा दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो । आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ ।






प्रतिक्रिया