फुङ्लिङ-किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराँती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ ।
ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ । किराँती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने गर्दछ ।
दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्ने गरेको किरात याक्थुङ चुम्लुङ शाखा ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो ।
मेन्याङबोका अनुसार सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो–मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन् । प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा–युवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराबतत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गर्दछ ।
किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख–पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् ।
यसैगरी, उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक–सांस्कृतिक विकृति–विसङ्गति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भाव पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमूलीले आग्रह गरेका हुन्छन् अर्थात् अब त नयाँ अन्नबाली र फलफूल पाके । यसकारण, अब हामी कम्तीमा छ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौँ भनेर रमाउने गरेको किरात धर्मका जनकारको भनाइ छ ।
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजाति पूर्वका किरात लिम्बू, राई तराईका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङनामको रुपमा मनाउँदै आएको किरात साहित्य उथान सङ्घका अध्यक्ष ज्ञानु फुरम्बो (चरपे)ले बताउनुभयो । किरातीले सिसेक्पा तङनाम (साउनेसङ्क्रान्ति) र कक्फेक्वा तङनाम (माघे सङ्क्रान्ति)लाई महान् पर्वको रूपमा मनाउने फुरुम्बुले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिसेक्पा तङनाममा हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ, भनी मनाउने गरेको छ भने माघे सङ्क्राान्तिलाई वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ भनी मनाउने गर्दछन् ।” कक्पेक्वा तङनाम मरिन्छ कि भनेर मनाउने हो भने सिसेक्पा तङनाम लौ बाँचियो भनेर मनाउने गरेको फुरुम्बोले बताउनुभयो ।
प्रतिक्रिया