अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनैपूर्णिमा र गाईजात्रा कहिले ?

जनैपूर्णिमा र गाईजात्रा कहिले ?

किन स्थानीय तहअनुसार फरक-फरक दिनमा मनाउने निर्णय गरियो ?


काठमाडौँ-स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरक-फरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन्।

काठमाडौँ उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरक-फरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका हुन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने उल्लेख गरिएको छ। यस वर्ष तिथिको घटबढका कारण दुई दिनपर्ने पर्व एकैदिन परेको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो।

उहाँका अनुसार रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइन्छ। पूर्णिमा तिथि रहेका बेला सूर्योदय भएको दिन रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व मनाउनुपर्ने भएकाले भदौ १४ गतेलाई निर्णय गरिएको प्राडा भट्टराईले बताउनुभयो। “गाईजात्रा पर्व भने भाद्रकृष्ण प्रतिपदाका दिन मनाइन्छ। भदौ १४ गते बिहान पूर्णिमा तिथि छ”, उहाँले भन्नुभयो, “सोही दिनको बिहान ७:४९ बजेपछि भाद्र कृष्ण प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा अर्थात् सापारु पर्व पनि त्यसै दिन मनाउनुपर्ने निर्णय समितिले गरेको हो।”

भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशन गरेर १३ गते रक्षाबन्धन र १४ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेको छ। नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालले भक्तपुरस्थित तलेजु मन्दिरका मूलपुजारी र तान्त्रिकहरुको निर्णयका आधारमा यस्तो निर्णय गरिएको बताउनुभयो।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकामा यससम्बन्धी छलफल गरी पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको निर्णय अनुसार भदौ १४ गते नै दुवै पर्व मनाउने निर्णय गरिएको शङ्खधर साख्वा प्रतिष्ठानका पूर्व अध्यक्ष श्याम मानन्धरले जानकारी दिनुभयो। नगर क्षेत्रमा भाद्रकृष्ण द्वितीयाका दिन मनाइने भैरव र नीलबाराहीको नाच भने भदौ १५ गते मनाउने निर्णय भएको उहाँले बताउनुभयो।

ललितपुरका केही सांस्कृतिक संस्थाले १३ गते रक्षाबन्धन एवम् जनैपूर्णिमा र १४ गते गाईजात्रा पर्व मनाउने निर्णय गरेका छन् । पाटन क्षेत्रमा विशेषगरी क्वा बहाः अर्थात् हीरण्यवर्ण महाविहारले चाडपर्वसम्बन्धी निर्णय गर्ने गरेको छ।

यो निर्णय पनि शास्त्रसम्मत् नभएको समितिका सदस्य भट्टराईले बताउनुयो। भदौ १३ गते भद्रा परेकाले यस दिन पुण्य कर्म गर्नु नहुने उहाँको भनाइ थियो।

काठमाडौँका केही सांस्कृतिक संस्थाले पनि भदौ १४ गते रक्षाबन्धन एवं जनैपूर्णिमा र १५ गते गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय सार्वजनिक गरेका छन्।

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी चाडपर्व, तिथि, मितिसम्बन्धी निर्णय गर्ने जिम्मेवारी तोकेको थियो। समितिको उक्त गठन आदेश विसं २०७८ साउनमा नेपाल राजपत्रमा सूचनाका रुपमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको हो। स्थानीय तह र गैरसरकारी संस्थाका रुपमा दर्ता भएका सांस्कृतिक संस्थाले पनि यस विषयमा निर्णय गरी सार्वजनिक गर्न थालेपछि चाडपर्वका बारेमा बेलाबेलामा अन्योल हुने गरेको छ।

Skip This