अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा 

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा 


ललितपुर-ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल सञ्चालनमा ल्याउने तयारी गरिएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, सञ्चालन तथा उद्घाटनको निश्चित मिति भने सार्वजनिक भएको छैन।

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको उक्त पुलमा करिब चार करोड ६८ लाख रुपैयाँ खर्च भएको छ। २०८० फागुनमा निर्माण सुरु गरिएको पुल सम्झौताअनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, प्राविधिक समस्या तथा निर्माण प्रक्रियामा देखिएका जटिलताका कारण निर्धारित समयमा काम पूरा हुन सकेन।

पुलको दुवैतर्फ लिफ्ट जडान गरिएको छ। यसबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी सवारीसाधनको चाप रहने चक्रपथ क्षेत्रमा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गराउने र दुर्घटनाको जोखिम घटाउने उद्देश्यले पुल निर्माण गरिएको हो।

लिफ्टसहितको संरचनाका कारण कुसुन्तीको यो आकाशे पुलले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ। पुल सञ्चालनमा आएपछि सडक वारपार गर्न कठिनाइ भोग्दै आएका पैदलयात्रीलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

निर्माण कार्य अन्तिम चरणमा पुगे पनि पुल सञ्चालनको औपचारिक मिति सार्वजनिक नहुँदा सर्वसाधारण भने सञ्चालनको प्रतीक्षामा छन्।