कावासोती-गाउँ तहका कार्यकर्ताको कुरा सुनेर बनाउने योजना तथा कार्यक्रम मात्र कार्यान्वयन हुन सक्ने भएकाले कार्यक्रमको सफलताको लागि स्थानीय कार्यकर्ताको आवाजको सुनुवाई हुनुपर्ने आवाज उठेको छ। नेकपा (एमाले) नवलपुरको बुलिङटारमा भएको पालिका स्तरिय पार्टी जागरण अभियानको शुरुवातमा बोल्ने सहभागीहरुले यस्तो कुरा उठान गरेका हुन्।
पालिकास्तरीय पार्टी जागरण अभियानको शुभारम्भ कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले पार्टीभित्रको नेतृत्व र कार्यकर्ताबीचको दूरी घटाउनुपर्ने, कार्यकर्ताको मनोबल बढाउने निर्णय गर्नुपर्ने र पार्टीका नीति तथा कार्यक्रम कार्यान्वयनमा ध्यान दिनुपर्ने धारणा राखेका थिए।
एमाले बुलिङटार गाउँपालिका अध्यक्ष मनवीर पुलामीले पार्टीमा निरन्तर क्रियाशील कार्यकर्ताको मनोबल बढाउने निर्णय केन्द्रबाट हुनुपर्ने बताए। नेता र कार्यकर्ताबीचको खाडल बढ्दै जाँदा कार्यकर्तालाई नागरिकका बीचमा पुगेर काम गर्न कठिन भइरहेको उनको भनाइ थियो। अध्यक्ष पुलामीले भने– ‘कार्यकर्तालाई तेजबोझ गर्ने नेता र कार्यकर्ताबीचको खाडल हुँदा कार्यकर्ता नागरिक बीच पुग्न आनाकाना भइरहेको छ।’
एमालेका अग्रज व्यक्तित्व टंकनाथ गिरीले पार्टीको वैचारिक आधार र नेतृत्वको व्यवहारबीच तालमेल हुनुपर्ने बताए। पार्टीको चुनाव चिह्न सूर्य अंकित गम्छा लगाएर हिँड्दासमेत प्रश्न उठ्ने अवस्था रहेको उल्लेख गर्दै उनले नेतृत्वले मार्क्सवादको सान्दर्भिकता र पार्टीको वैचारिक पहिचानलाई व्यवहारमा आत्मसात् गरेको छ कि छैन भन्ने प्रश्न उठेको धारणा राखे।
नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवं एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार भागिरथ सापकोटाले केन्द्रीय तहका नेताले बैठकमा आफ्ना कुरा मात्र राख्ने नभई तल्लो तहका कार्यकर्ताका सुझाव र समस्या जस्ताको तस्तै माथिल्लो तहमा पुर्याए कि पुर्याएनन् भन्ने विषयमा पनि कार्यकर्ताले समीक्षा गर्नुपर्ने बताए।
पार्टीका वास्तविक समस्या र कार्यकर्ताका आवाज नेतृत्वसम्म पुर्याउनुका साथै त्यसको कार्यान्वयन सुनिश्चित गर्न पार्टी पुनर्गठन आवश्यक रहेको उनको भनाइ थियो। पार्टीलाई प्रभावकारी बनाउन नेतृत्वले तल्लो तहको आवाज सुन्ने र त्यसअनुसार निर्णय गर्ने अभ्यास विकास गर्नुपर्ने उनले बताए।
एमाले युवा नेता विद्रोही गिरीले पार्टीका निर्णय दूरदर्शी नहुँदा कार्यकर्तामा उत्साह कायम राख्न कठिन भएको धारणा राखे। मदन भण्डारीका विचार अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उनले पार्टीका निर्णय महाधिवेशनदेखि महाधिवेशनसम्म वा बैठकदेखि बैठकसम्म पनि टिक्न नसक्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।
पार्टीका निर्णय दीर्घकालीन र कार्यान्वयनयोग्य हुनुपर्नेमा जोड दिँदै गिरीले नेतृत्वले अहिले देखिएका समस्या समाधान गर्न सके नागरिक तहमा पार्टीलाई पुनर्जागृत गर्न सकिने गिरीले धारणा राखे।
संविधानसभा सदस्य कृष्णप्रसाद पौडेलले एमालेको सिद्धान्त र नीति सही भए पनि पार्टीलाई व्यक्तिवादी सोचबाट सामूहिक नेतृत्व र निर्णय प्रक्रियातर्फ लैजानुपर्ने बताए। समस्याको प्रकृति पहिचान गरेर सोहीअनुसार समाधान खोज्नुपर्ने उल्लेख गर्दै उनले यस विषयमा सबै नेता तथा कार्यकर्ता गम्भीर हुनुपर्ने धारणा राखे।
बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीले कार्यक्रममा स्थानीय सरकार सञ्चालनका क्रममा प्राप्त अनुभव प्रस्तुत गरेका थिए।
बुलिङटार गाउँपालिकाका छवटै वडाका पार्टी कमिटी प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा पार्टीको संगठनात्मक अवस्था, नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध, निर्णय कार्यान्वयन तथा स्थानीय तहका अनुभवका आधारमा पार्टीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।



प्रतिक्रिया