अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको चियापानमा अध्यक्ष ओलीलाई रामकुमारी झाँक्रीको पुष्पगुच्छा उपहार

एमालेको चियापानमा अध्यक्ष ओलीलाई रामकुमारी झाँक्रीको पुष्पगुच्छा उपहार


काठमाडौँ-नेकपा एमालेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीलाई पुष्पगुच्छा प्रदान गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेले आयोजना गरेको चियापानमा झाँक्रीले पुष्पगुच्छा ल्याएर अध्यक्ष ओलीलाई प्रदान गर्नुभएको थियो।

निमन्त्रणा पाए पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने चियापान समारोहमा सहभागी हुनु भएन। पार्टी कामको सिलसिलामा भन्दै नेपाल बुधवार रौतहट जानु भएको एक स्राेतले बताए।

सचिव झाँक्रीलाई एमाले अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो। एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादीमा गएका झाँक्रीले अध्यक्ष ओलीलाई पुष्पगुच्छा उपहार दिँदै तस्बिर समेत खिचाउनु भयो। आज झाँक्री निकै खुशी देखिनु भएको थियाे। च्यासलमा उहाँले टेक्नेबित्तिकै अनुहारमा विशेष चमक छाएको थियो। त्यसखबत झाँक्रीको अनुहारमा देखिएको चमक जति हेर्नलायक थियो।

यस्तै उहाँले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग अंगालाेमा बाँधिनुभयो। यो क्षण विशेष रूपमा हेर्नलायक थियो। यसबेला उहाँहरू दुवै केही भावुक बनेका थिए। 

एमालेभित्र छँदा अध्यक्ष ओलीको कुनै समयमा सचिव झाँक्री चर्को आलोचना गर्नुभएको थियाे।

एमालेनिकट अखिलको अध्यक्ष समेत रहिसकेकी झाँक्री २०७८ भदौमा नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीको सचिव बन्नु भएको हाे।

पार्टी विभाजनको समयमा झाँक्रीले माधव नेपालको हात समातेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्न गएको तस्वीरले चर्चा कमाएको थियो। पछिल्लो समय झाँक्रीले एमालेसँग मिल्नुपर्ने धारणा पार्टीभित्र राख्दै आउनुभएको छ। च्यासलको चियापानमा उहाँको अनुहारमा देखिएको चमकले शायद केही राजनीतिक भाषा बोलिरहेको थियो।

झाँक्री पछिल्लो समय पार्टीभित्र सन्तुष्ट छैनन्। पार्टी नेतृत्वदेखि रुष्ट बनेको झाँक्री एमाले प्रवेश गर्ने तयारी रहेकोसम्म चर्चा चलेको थियो।

एमालेले चाडपर्वको अवसरमा गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको थियो। तर, अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल जानु भएन। नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने चियापानमा सहभागी हुनुभएको थियो । उहाँ पनि आज खुशी देखिनुभएको थियाे। उहाँले च्यासलस्थित एमाले मुख्यालय पुगेर अध्यक्ष ओलीसहित एमाले नेताहरूसँग तस्बिर खिचाउनु भयो। 

एमालेले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि विभिन्न राजनीतिक दलका नेताहरू, उच्च पदस्थ व्यक्तिहरू साथै एमालेका शुभचिन्तकहरू सहभागी हुनुभएको थियो।

एमाले अध्यक्ष ओलीको निमणत्रणामा चियापान कार्यक्रमा सहभागी हुनका निम्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समावजवादीका सम्माननित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरु च्यासल पुग्नु भएको थियो।

यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलयात विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापनमा सहभागी हुनुभएको थियो।

 कार्यक्रममा पार्टी नेता, कार्यकर्ता, शुभचिन्तकका साथै विभिन्न राजनीतिक दलका नेता र विशिष्ट पाहुनाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।