अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

केन्द्रसहित सबै प्रदेशमा एमालेले नेतृत्व गर्ने मिसनमा छौँ : योगेश भट्टराई

केन्द्रसहित सबै प्रदेशमा एमालेले नेतृत्व गर्ने मिसनमा छौँ : योगेश भट्टराई


जनकपुर-नेकपा (एमाले)का सचिव एवं मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले सबैको सुदृढ एकताबाट देशलाई गरिबी, अशिक्षा र  पछौटेपनबाट मुक्त गराउनुपर्ने बताउनु भएको छ।

नेकपा (एमाले) धनुषाको क्षेत्र नम्बर २ (क) मुडिवा टोलमा भएको पार्टी प्रवेश तथा वृहत सभालाई सम्बोधन गर्दै भट्टराईले खाडीको  पसिना बगाउने नौजवानहरूलाई स्वदेशमै पसिना बगाउने व्यवस्था मिलाउनुपर्ने बताउनु भयो।

‘देशभित्रै श्रम गर्ने, आत्मसम्मानका साथ नेपाली हुँ भनेर गर्व गर्ने अभियानमा हामी सबै एकताबद्ध भएर लाग्नुपर्ने छ,’ भट्टराईले भन्नुभयो, ‘अहिले पनि नेकपा (एमाले) सरकारमा त छ। तर, हामीले सरकारको नेतृत्व गर्न पाएका छैनौँ। मधेसको सरकारमा हामी छौँ । तर, मुख्यमन्त्री हामीसँग छैन । त्यसैले हामीले जनताले चाहेको जस्तो काम गर्न पाएका छैनौँ। २०८४ मा निर्वाचन हुँदैछ। अब नेकपा (एमाले)को एउटै सङ्कल्प छ । यो देशको प्रधानमन्त्री नेकपा (एमाले)को हुनेछ । मधेसको मुख्यमन्त्री नेकपा (एमाले)को हुनेछ। हामीले त्यो सन्देश गाउँ गाउँमा लैजानु पर्ने छ।’  

गरिबी, अशिक्षा, पछौटेपनबाट  देशलाई मुक्त गर्दै शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने एमालेको उद्देश्य रहेको भट्टराईको भनाइ छ ।