अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेटले अर्थतन्त्रलाई थप गति दिन्छ: अर्थमन्त्री पुन

बजेटले अर्थतन्त्रलाई थप गति दिन्छ: अर्थमन्त्री पुन


काठमाडौँ-अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई थप गति दिने बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले अर्थतन्त्रलाई लयमा अगाडि बढाउन र निजी क्षेत्रलाई विश्वासको वातावरण बनाउन बजेटले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। ‘आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको लय पकड्ने छ’, अर्थमन्त्री पुनले भन्नुभयो, “अर्थतन्त्रका सबै क्षेत्रलाई सँगसँगै अगाडि बढाएर देशको अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको सोच छ।’

उहाँले सरकारी र सार्वजनिक क्षेत्रको गुणस्तरीय पूर्वाधार निर्माण गर्न निजी क्षेत्रको लगानी प्रोत्साहनलाई प्राथमिकता दिएको बताउनुभयो। ‘निजी क्षेत्रलाई निरुत्साहित गरेर पुँजी निर्माण गर्न सकिँदैन, उत्पादन वृद्धि हुन सक्दैन र रोजगारी सिर्जना गर्न सकिँदैन भन्ने हाम्रो बुझाइ छ। सोही अनुरूप विश्वासको वातावरण बनाएर अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिपरेको छ”, अर्थमन्त्री पुनले भन्नुभयो।

प्रदेश र स्थानीय तहमा जाने बजेट वृद्धि भएको उहाँको भनाइ छ। उहाँले चालु आवको विनियोजन विधेयकमा जति राजस्व उठ्छ त्यही अनुपातमा प्रदेश र स्थानीय तहमा अनुदान पठाउने र सोहीअनुरूप वित्तीय हस्तान्तरण गर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले जुम्लाको सिंजा सभ्यता र कर्णालीको पर्यटन विकासका लागि बजेट व्यवस्था गरिने बताउनुभयो ।सुर्खेत विमानस्थल पनि विस्तार हुने उहाँले जानकारी दिनुभयो।