पेरिस-फ्रान्समा विद्यार्थीको नेतृत्वमा सुरु भएको युवा आन्दोलन देशव्यापी बनेपछि सरकारले राजधानी पेरिससहित विभिन्न सहरमा रातिको कर्फ्यु लगाएको छ। शिक्षा क्षेत्रको सुधारको माग गर्दै गत महिना सुरु भएको आन्दोलनमा अहिले महँगीलगायत अन्य राष्ट्रिय मुद्दा पनि उठाइएका छन्।
पेरिस प्रहरीका अनुसार प्रदर्शनकारीहरू केही दिनदेखि भेला हुँदै आएका प्लेस डे ला रिपब्लिक र ल’अल्ली किनमेल क्षेत्रमा स्थानीय समयअनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको छ। सहरको केन्द्रका अन्य विभिन्न क्षेत्रमा पनि अनुमति नलिई भेला हुन प्रतिबन्ध लगाइएको छ।
आन्दोलनलाई नियन्त्रणमा लिन दक्षिणी फ्रान्सका मार्सेली, बोर्डो, नाइस र लियोन तथा उत्तरी सहर लिलसहित विभिन्न सहरमा पनि आंशिक कर्फ्यु घोषणा गरिएको छ।
यसअघि फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले केही सहर प्रहरीको नियन्त्रणबाहिर गएको स्वीकार गरेका थिए। आन्दोलन चर्किंदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरूले जनाएका छन्।
अधिकारीहरूका अनुसार प्रदर्शनका क्रममा अहिलेसम्म २ हजार ५०० भन्दा बढी मानिस पक्राउ परेका छन्। समाचार एजेन्सी एएफपीका अनुसार प्रदर्शन नियन्त्रण गर्ने क्रममा करिब एक हजार प्रहरी अधिकारी घाइते भएका छन्।











प्रतिक्रिया