अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीति तनावपूर्ण: महासचिव पोखरेल

सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीति तनावपूर्ण: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गर्नुभएको छ।

धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले सत्ता गुमाएको कुण्ठामा माओवादीले संसद अवरुद्ध गरेको समेत बताउनु भएको छ। उहाँले सरकार गठनको एक सय दिन नपुग्दै प्रचण्डले सदनमा दिएको अभिव्यक्ति पूर्ण रुपमा अराजनीतिक भएकोसमेत टिप्पणी गर्नुभयो।

‘सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले संसदमा जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णत असंसदीय र अराजनीतिक थियो’, महासचिव पोखरेल भन्नुभयो, ‘त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो।’

माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर माओवादीले संसद रोकेको महासचिव पोखरेलले आरोप लगाउनु भयो। तर माओवादी द्वन्द्वकालमा हिंसा मात्र भएन, राष्ट्रमा आतंक सिर्जना गर्ने काम भएको उहाँले बताउनु भयो। ‘दिनदहाडै बसमा आगजनी गर्ने, राति घरमा सुतेका एउटै घरमा ११ जनाको हत्या गर्ने काम भयो’, उहाँले भन्नुभयो, यो हिंसा मात्र होइन, आतंक पनि हो।’

यद्यपि माओवादी कार्यकर्ताको वलिदान समाजको परिवर्तनका लागि भएको र त्यसको आफूहरुले प्रशंसा नै गर्ने गरेको उहाँले बताउनु भयो । त्यही क्रममा गलत तत्वहरुले हिंसात्मक क्रियाकलाप पनि गरेको भन्दै उहाँले भन्नुभयो, ‘हिंसाको विरोध गर्नु अराजनीतिक पनि होइन, असंसदीय पनि होइन।’

सत्य निरुपण आयोग गठन गर्ने क्रममा माओवादी स्वयंले यसलाई स्वीकार गरिसकेको एमाले महासचिव पोखरेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सत्ता गुमाएको कुण्ठामा हिंसा पनि असंसदीय भयो भनेर संसद रोक्ने काम भयो, त्यसले कानुन निर्माणको महत्वपूर्ण समयमा संसद स्थगित गर्नुपर्ने भयो।’