काठमाडौ- नेपालमा हुने छैटौं एशियाली जनसंख्या सम्मेलन (एपिसि) को तयारी तिव्र रुपमा भइरहेको छ । नेपालको बदलिंदो जनसंख्याको स्वरुपमा राज्यले लिने नीतिका बारेमा विभिन्न एशियाली देशहरुको अनुभवले ठुलो मद्धत पुग्ने यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।
यस सम्मेलनलाई नेपालको तर्फबाट त्रिभूवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभाग(सिडिपिएस) आयोजकको भूमिका निर्वाह गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री तथा सचिवहरु सहितको सल्लाहकार तथा सहिजकरण समिती बनाइएको छ । एशियाली देशका करिब ७०० जना जनसंख्या विज्ञहरु उपस्थित हुने अपेक्षा गरिएको यस सम्मेलनमा हालसम्म ५०० जनाले नाम दर्ता गराइसकेको मुल आयोजक समितीका सदस्य सचिव पदद्धम खतिवडाले जानकारी दिनुभयो । हालसम्म शुल्क सहित नाम दर्ता गराउनेमा दक्ष्ािँण एशियाली देश बाहेकबाट १०० जना,दक्षिण एशियाबाट १७० जना र नेपालबाट २७० जनाले शुल्क बुझाइसकेका छन् । यस सम्मेलनमा भाग लिन प्रत्येक सहभागीले १० हजार रुपैंया शुल्क बुझाउने पर्ने खतिवडाले बताउनुभयो ।
आगामी मंसिर १२ देखि १५ अर्थात नोभेम्बर २७ देखि ३०तारिखसम्म काठमाडौंको होटल सोल्टीमा हुने सम्मेलनमा करिब ३ करोड रुपैंया खर्च हुने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपिए) र अन्तराष्ट्रिय बसाँइसराइ संगठन (आइओएम),सहभागी तथा नेपाल सरकारका विभिन्न मन्त्रालयबाट अनुदान प्राप्त हुने आयोजकको अपेक्षा छ । ‘प्रधानमन्त्री,उपप्रधान तथा अर्थमन्त्री,स्वास्थ्य तथा जनसंख्या मन्त्री,र सञ्चार तथा सुचना प्रविधि मन्त्रीबाट पनि हामीले प्रतिवद्धता प्राप्त गरेका छौं’ मुल आयोजक समितीका संयोजक प्रा.डा.योगेन्द्र बहादुर गुरुङले भन्नुभयो ‘हामीले नगद सहयोग भन्दा पनि लजिष्टिक सर्पोटका लागि माग गरेका छौं ।’
खतिवडाका अनुसार होटल सोल्टीमा विभिन्न विषयमा छलफल गर्न ५ वटा सेमिनार हल बुक गरिएको छ । यस सम्मेलनमा नेपालको जनसंख्याको वर्तमान अवस्थाका बारेमा पनि एउटा विशेष सेसन सञ्चालन गरिने गुरुङले जानकारी दिनुभयो । ‘२०७८ सालको जनगणनाको नतिजा केलाउँदा नेपालको जनसंख्यामा व्यापक मात्रामा स्थानान्तरण (प्याराडिगम सिफ्ट)को अवस्थामा छ’ गुरुङले भने ‘तर यस अघि नै यो अवस्थाबाट गुज्रिसकेका जापान,कोरिया,चाइना जस्ता देशका विद्वानबाट उनीहरुले यस्तो अवस्थालाई कसरी सम्बोधन गरे भन्ने अनुभव सुन्न पाइनेछ । यसबाट हाम्रो जनसंख्या व्यवस्थापनका लागि ठुलो शिक्षा प्राप्त हुनेछ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरी प्रसाद मैनालीका अनुसार सम्मेलनमा प्रष्तुत हुने देशी विदेशी विज्ञका कार्यपत्रबाट नेपालमा जनसंख्या नीति बनाउन मद्धत पुग्ने विश्वास गरिएको छ । ‘हामी जनसंख्या नीति बनाउने चरणमा छौं । यस सम्मेलनबाट हामीले नेपालको जनसंख्या नीतिका लागि थुप्रै पृष्ठपोषण प्राप्त गर्नेछौं ।’ उहाँले जनसंख्या सम्मेलनको तयारी तिव्र रुपमा अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा.हेमराज रेग्मीले नेपाल सम्बन्धी बहस हुने प्लेनरी सेसनमा जनगणनाका नयाँ तथ्यहरुका बारेमा कार्यालयका तर्फबाट प्रष्तुति दिने बताउनुभयो । प्रा.डा.गुरुङ्गले एनएसओले जनगणना २०७८ का नतिजाहरुको संग्रहका रुपमा एउटा स्टल राख्न सुझाव दिनुभएको छ । सम्मेलनमा १७ वटा थिममा कार्यपत्रहरु प्रष्तुत हुने आयोजकले जनाएको छ ।
प्रधानमन्त्रीले सम्मेलन उद्ध्घाटन गर्ने
छैटौं एशियाली जनसंख्या सम्मेलनको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने निश्चित भएको छ । केही दिन अघि आयोजकका तर्फबाट सिडिपिएसको एक टोलीले प्रधानमन्त्रीलाई भेटेर प्रमुख आतिथ्यताको निमन्त्रणा दिइसकेको छ । प्रधानमन्त्री ओलीले कार्यक्रमको उद्ध्घाटन गर्ने आउने समय दिनुभएको प्रा.डा.गुरुङ्गले जानकारी दिनुभयो । यसैगरी पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई पनि विशेष अतिथीको रुपमा आमन्त्रण गरिएको छ । नेपालको महिला शसक्तिकरणको सफल अभ्यास प्रदर्शन गर्न उद्ध्घाटन सत्रमा सातैवटै प्रदेशका प्रदेशसभाका उपसभामुखलाई मञ्चमा राखिने भएको छ । हाल सातै प्रदेशमा महिला उपसभामुख रहेका छन् ।
आयोजकले दिएको जानकारी अनुसार हालसम्म करिब १ करोड ९० लाख रुपैंयाको प्रतिवद्धता आएपनि अनुमानित खर्चमा करिब १ करोड १० लाख रुपैंया अपुग हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बारकोटीले सम्मेलनको मिति नजिकिंदै गरेकोले अनुमानित बजेटको सुनिश्चितताका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।
एशियाली जनसंख्या संघ –एपपिए)ले यस क्षेत्रका जनसाङ्ख्यिक मुद्धाहरुलाई साझा मञ्चमा छलफल गराउनका लागि सन् २०१० देखि यस्तो सम्मेलन आयोजन गर्न थालेको हो । जस अनुसार सन् २०१० मा पहिलो सम्मेलन नयाँ दिल्लीमा भएको थियो ।दोस्रो सन् २०१२ मा थाइलेण्डमा,तेस्रो सन् २०१५ मा मलेसियामा,चौथो सन् २०१७ मा साँघाइ चाइनमा,पाँचौ सन् २०२१ मा जाकार्तामा भएको थियो । सम्मेलनको छैटौं संस्करण नेपाला हुन लागेको हो ।
प्रतिक्रिया