काठमाडौं-चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ।
प्रतिनिधिमण्डलमा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सम्झना देवकोटा, सरिता भुसाल, शान्ति ढकाल लगायत हुनुहुन्छ।
टोलीमा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी १० पुरुष र पाँचजना महिला नेताहरू सहभागी छन् । एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले चीनको नानजिङगमा आयोजना हुने ‘दोस्रो ग्लोबल साउथ थिन्क ट्याङ्क फोरम’ लाई सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा नेपालबाट गएको टोलीले सहभागिता जनाउने छ।
टोली चीनको जाङ्सु, उहान, बेइजिङलगायत स्थानमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा सहभागी भएर मङ्सिर ६ गते स्वदेश फर्कनेछ।
भ्रमण टोलीलाई रक्षा मन्त्री मानवीर राई, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारी, विदेश विभाग सदस्य गोपाल खनाल लगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आईतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा भ्रमण टोलीलाई शुभकामना दिनुभएकाे थियो ।
प्रतिक्रिया