अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईंलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गरियोस्: सूर्य थापा 

दुर्गा प्रसाईंलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गरियोस्: सूर्य थापा 


काठमाडौं-नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले मेडिकल व्यावसायी दुर्गा प्रसाईँलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ।

व्यावसायी प्रसाईँ विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित भएकाले नियन्त्रणमा लिनुपर्ने नेता थापाको माग छ। प्रसाईँले प्रधानमन्त्री केपी ओलीलाई लगाएको आरोप पुष्टि गर्न लगाउन पनि उहाँले माग गर्नुभएको छ।

प्रसाईँले एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको एउटा टेलिकम कम्पनीमा रु.२१ करोड अमेरिकी डलर लगानी भएको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेपछि थापाले यस्तो प्रतिक्रिया जनाउनुभएको हो।

बैङ्कहरूको अरबौँ रुपैँया ऋण लिएर नतिरी बैङ्कको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारणलाई भ्रममा पारेर वित्तीय अपराध गरिरहेका प्रसाईँले किर्ते कागजको अपराध सुरु गरेको थापाको आरोप छ। ‘बैङ्कको ऋण तिर्नु पर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न, तर उल्टै तथाकथित अभियान चलाइरहेको र स्वयंचाहिँ अरबौँ रकम बैङ्कको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली (फेक) कागजातको कारखाना पनि सञ्चालन गर्न सुरु गरेछ, विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरुद्ध परिचालित यस सिल्ली फ्याउरोलाई अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस्’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ।

प्रसाईँ मानसिक रूपमा पनि अस्वस्थ देखिएकोले स्वास्थ्य परीक्षणको प्रबन्ध मिलाउन पनि उहाँले माग गर्नुभएको छ । ‘मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाइयोस्’, उहाँले लेख्नु भएको छ।

आफूलाई सामाजिक अभियन्ता भन्ने प्रसाईँले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गर्नुभएको थियो । प्रसाईँले म मर्न तयार छु तर यस्ता तस्करसँग झुक्न तयार छैन भन्दै सामाजिक सञ्जालमा भिडियो राख्नु भएको छ । यो सुरुवात मात्र भएको भन्दै यस्ता प्रमाणहरू अन्य दलका नेताहरूका पनि आइरहने धम्की पनि प्रसाईँले सामाजिक सञ्जाल फेसबुक मार्फत दिनुभएको छ।