अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र लालहरूका कुण्ठा

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र लालहरूका कुण्ठा


काठमाडौं-सीके लाल यस्ता बौद्धिकहरूका पनि बौद्धिक हुन् जसले क्लिष्ट अभिव्यक्तिको अर्थ ठम्याउने सामर्थ्य राख्दैनन्। अरू जो कोहीले यिनका फेद न टुप्पोका लेख रचना पढ्दा पनि पढदैनन्।

नेपालको सन्दर्भमा यिनले गर्ने राजनैतिक विश्लेषण भनेको प्रकारान्तरले एमालेलाई, अझ खासगरी यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जन विरोधी, गफाडी, भारत विरोधी, अज्ञानी आदि भए जति खराब कुराहरुको आभूषण पहिर्याउने र भारतको स्वामिभक्ति गाएर दानापानीको जोहो गर्ने हो। अहिले यी लाल र यस्तै अरु लालहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले मालिक रिझ्याउने सुनौलो अवसर प्राप्त भएको छ।

यसै सन्दर्भमा मंसीर १२ गतेको कान्तिपुर दैनिकमा सीके लालले ‘लचिलो कूटनीतिको अनिवार्यता’ शीर्षकमा एउटा यस्तै दानापानी जुटाउने लेख लेखेका छन् र त्यो आधा जति लेख चाहिं केपी शर्मा ओलीको खिसिट्युरीले ओगटेको छ। यदि कसैसँग घनिष्ठ सम्बन्ध बनाउनु छ भने ऊसँग आफ्ना मनका कुराहरुलाई खुलस्त ढंगले राख्नुपर्छ। सम्बन्ध मजबुत बनाउने मुख्य कडी नै यही हो। लालजी चाहे त्यो तपाईंको श्रीमतीसँग तपाईले राख्ने सम्बन्ध होस् वा छिमेकीसँग होस् अथवा कुनै राष्ट्र-राष्ट्र बीचको सम्बन्धको सवालमा होस्।

संभवत भारतका सबै छिमेकी मुलुकका नेताहरूमा केपी ओली नै त्यस्तो पहिलो राजनेता हुनुहुन्छ जसले वर्षौ देखि आफू र आफ्नो देशका नागरिकहरूको मनमा गुम्सिएर रहेका पिडाहरूलाई निडरतापूर्वक खुलस्त ढङ्गले दुवै छिमेकी सामु राख्नु भो। कालापानी, लिम्पियाधुरा, लिपुलेक माथिको दाबी, सार्वभौमिकताको समानताको सिद्धान्त जस्ता दूरगामी महत्वका मुद्दाहरूलाई भारतसामु प्रस्तुत गर्नु भो। भारत र नेपालबीचको सांस्कृतिक समानता र हाम्रा धार्मिक धरोहरहरू चाहे ती भारतीय भूमिमा अवस्थित होउन् वा नेपाली भूमिमा। तिनीहरू नेपाल भारत दुवै देशका जनताका साझा गौरवहरू हुन भन्ने मान्यतालाई निसंकोच आत्मसात् गर्दै यस्ता गौरवहरूको ऐतिहासिकता प्रमाणित गरिनु पर्छ भन्ने मान्यतालाई खुलस्त मनले राख्नु भयो। उहाँको यो आपसी सम्बन्धलाई शङ्कारहित र मजबुत बनाउने उद्देश्यले प्रस्तुत विचारले उतैको दानापानी ज्यूनार गर्ने लालहरू जस्ता दासहरूलाई हजम हुने कुरै भएन र यी लालहरू त्यसै दिनदेखि ओलीको उछितो काढ्न लागि परेका छन्। जब देश भित्रकै बुद्धिजीवी हुँ भन्नेहरूलाई केपी ओलीका यी कदमहरू अपाच्य भयो भने सदियौँ देखि बढे भाइको मानसिकता पालेर बसेको भारतले झन् पचाउन सक्ने कुरै भएन। पहिले पहिले नेपालमा नयाँ सरकार गठन हुनासाथ शुरुमै नेपालका प्रधानमन्त्रीले भारतलाई कूटनीतिक बाटोबाट होइन, साँच्चै भन्ने हो भने सार्वजनिक रूपमा अपिल नै गरेर निम्ता गर्न बिन्ती गर्ने र भारतले पनि निम्तो पठाई दिने चलन रहिआएको हो। तर केपी ओली स्वाभाविक रूपमा सम्मानित ढङ्गले भारतको भ्रमणमा जान चाहनुहुन्थ्यो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा रहेका नेपाल र आफू प्रतिका भ्रमहरूलाई खुलस्त रूपमा स्पष्ट पार्न चाहनु हुन्थ्यो भन्ने कुरा सहजै अन्दाज गर्न सकिन्छ।

संभवत मोदी अनिच्छुक भएर पनि हुन सक्छ वा उहाँको व्यस्तताका कारणले पनि हुन सक्छ, जे सुकै होस् केपी ओलीले आफूले चीन भ्रमण गरेर भारतलाई उसले हालसम्म अख्तियार गरेको छिमेक नीतिको बारेमा गम्भीर समीक्षा गर्दै त्यसमा परिवर्तन गर्न जरुरी छ भन्ने सन्देश स्पष्ट रूपमा दिनु भएको छ। अहिलेको युग स्वाभिमानको युग हो, समानता र सह अस्तित्वको युग हो। अब हामी भौगोलिक रूपमा विकल्प रहित छैनौ। बाह्रै महिना चल्ने उत्तर दक्षिणका राजमार्ग, अब बन्ने नेपाल चीन जोड्ने रेलमार्ग, निर्माण सुरु हुन लागेको दुई सय मेगावाटको तिब्बत‌ जोड्ने ट्रान्समिसन लाइन जस्ता परियोजनाले ल्याउने परिवर्तन चमत्कारिक हुने कुरामा कुनै द्विविधा नराखे हुन्छ। र, यो भिजन पनि ओलीकै दूर दृष्टिको उपज हो। नेपालका लागि भारतको उपयोगिता अब क्रमशः घट्दो क्रममा हुनेछ तर भारतका लागि नेपाल चीर कालसम्म महत्त्वपूर्ण रहिरहने छ। जति हाम्रा प्रकृति सम्पदाहरूको भारतलाई आवश्यकता हुनेछ त्यति हामीलाई उसको उत्पादनको आवश्यकता रहने छैन। अतः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउथ ब्लकले यो सत्यलाई बेलैमा आत्मसात् गरेर नेपाल नीतिमा परिवर्तन गरेनन् भने अब पछुताउने पालो भारतको हुनेछ। नेपालको होइन। 

(अधिकारी, नेकपा एमाले उद्योग तथा व्यवसाय विभागका सदस्य हुनुहुन्छ।)