अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रदेश र जिल्ला तहका नेताहरूलाई महासचिव पोखरेलका प्रश्नै प्रश्न

एमाले प्रदेश र जिल्ला तहका नेताहरूलाई महासचिव पोखरेलका प्रश्नै प्रश्न



काठमाडौं-नेकपा एमालेले पार्टी निर्माणका लागि स्थानीय तहमा देखिएका समस्याहरूलाई केलाउने र तिनको समाधानका लागि विशेष पहल थालेको छ। यसका लागि पार्टीको नेतृत्वलाई प्रशिक्षण दिएर जिल्ला, प्रदेश र स्थानीय तहसम्म पार्टी निर्माणलाई तिव्रता दिन तयारी थालिएको हो।

आजबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएकोे पार्टी निर्माणमा स्थानीय तहका समस्या र समाधानका विषयको कार्याशालामा महासचिव शंकर पोखरेलले पार्टीले बनाएको वार्षिक कार्ययोजनालाई अनिवार्य रूपमा कार्यन्वयन गर्न निर्देशन दिनुभएको छ। महासचिव पोखरेलले पार्टीमा युवा र महिलाको संख्या किन बढाउन सकिएन भनेर सहभागीहरुलाई प्रश्न गर्नुभएको छ। ‘पार्टीका हरेक कमिटीमा ४० वर्ष भन्दा कम उमेरका युवा र महिलाहरूको संख्या बढाउने केन्द्रीय नीति छ। तर किन यो कुरा कार्यान्वयन हुन सकिरहेको छैन ?’ महासचिव पोखरेलको प्रश्न छ।


महासचिव पोखरेलले मिसन-२०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताउनुभयो। यस सन्दर्भमा पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्वपूर्ण काम भएको भन्नुहुँदै उहाँले पार्टी कमिटीहरूले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्वका साथ काम गर्नुपर्नेमा त्यसो नभइरहेको बताउनुभयो।

उहाँले स्थानीय तहदेखि नै युवा र महिलाको क्षेत्रमा विशेष जोड दिएर काम गर्नुपर्ने बताउँउनुभयो। सहभागीहरुलाई पोखरेलले सोध्नुभयो– पार्टी निर्माणका सन्दर्भमा जहाँ जोड दिनुपर्ने हो, त्यहाँ किन जोड दिन सकिरहेका छैनौं ? किन ध्यान गएको छैन ?
पार्टी जीवनका समस्याहरू औल्याउँदै महासचिव पोखरेलले पार्टीको नीति जनतासम्म पुग्ने/पुर्याउने तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग सम्वाद गर्नुपर्ने पक्षमा कमी रहेको र अहिले जुन ढङ्गले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताउनुभयो।


उहाँले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामको विष्लेषण सुनाउँदै हेर्दा विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताउनुभयो । महासचिव पोखरेलले स्थानीय तहमा जनप्रतिनिधिले गर्ने काम पार्टी निर्माणमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताउनुभयो ।
कार्यशला आज र भोली सञ्चालन हुनेछ ।