अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ-आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । जस अन्तर्गत बिहान ११ बजे बस्ने  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हालसम्मको प्रगति, नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थिति र नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुनेछ। 

प्रतिनिधि सभाकै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ।बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने कार्यसूची छ।

यस्तै बिहान ११ः३० बजेकै लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनबारे छलफल हुँदै छ।

प्रतिनिधि सभाकै पूर्वाधार विकास समितिको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा जलस्रोत विधेयक, २०८१ बारे दफाबार छलफल गर्ने कार्यसूची छ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजका लागि बोलाइएको छ। 

बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरूसँग छलफल गर्दै छ। समितिले आज छलफलका लागि उद्योग मन्त्रीलाई बोलाएको छ।

यस्तै, दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ बारे दफाबार छलफल गर्ने कार्यसूची छ।

संसद्‌को हिउँदे अधिवेशन नजिकिँदै गर्दा संसदीय समिति सक्रिय भएका छन्।

सभामुखले पटकपटक समिति सभापतिहरूसँग छलफल गरी समितिमा रहेका विधेयक टुंगोमा पुर्‍याउनेगरी छलफल गर्न आग्रह गरिरहेका छन् भने दलहरूले पनि सांसदहरूलाई समयमै विधेयक पास हुने गरी काम गर्न भनेका छन्।