अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कमजोर बनाउन चार शक्ति लागेका छन् यसको प्रतिवाद गर्नुपर्दछ : महासचिव शंकर पोखरेल

एमाले कमजोर बनाउन चार शक्ति लागेका छन् यसको प्रतिवाद गर्नुपर्दछ : महासचिव शंकर पोखरेल


काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथी चारवटा शक्तिले हमला गरिरहेको बताउनुभएको छ । एमालेले राष्ट्रहित र जनताका सवाललाई शसक्त ढंगले उठाँउदा यस्तो हमला भएपनि उनीहरुको स्वार्थ पुरा हुन नदिन एमालेले शसक्त प्रतिवाद गर्नुपर्ने उहाँले बताउनुभयो ।
एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । पोखरेलले एमालेलाई राजावादी,कम्यूनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरु र विदेशी शक्तिहरुले हमला गरिरहेको बताउनुभयो ।
‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइवर हमला गरिरहेका छन् । मुख्यगरी उनीहरु सामाजिक सञ्जाल मार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी,माओवादी,समाजवादी पपुलिष्ट र बाह्य शक्ति’ पोखरेलले भन्नुभयो ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पुरा हुने भएकोले उनीहरु हामी माथी खनिएका हुन् ।’ एमाले नभएको भए राजालाई नारयणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरु एमाले विरुद्ध खनिएको उहाँले बताउनुभयो । ‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालिन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भन्नुभयो ‘त्यसैले उनीहरु एमाले विरुद्ध खनिएका छन् । राजावादीको गालिबाट हामी बिचलित हुनुहुदैन । उनीहरुले विरोध गरेपछि बुझ्नु पर्छ हामी सही ठाउँमा छौं ।’
एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्यूनिष्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ । नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरु बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी,समाजवादी र अन्य कम्यूनिष्ट नामका पार्टीहरु एमाले माथी हमला गर्न आउने गरेको उहाँले बताउनुभयो । ‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्यूनिष्टधारीहरु साइबर हमला गर्न आएका छन्’ पोखरेलले भन्नुभयो ‘तिनीहरु विदेशीका भरिया हुन् । काँग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरु एमाले विरुद्ध खनिएका हुन् । यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ । ’
महासचिव पोखरेलले एमाले माथी हमाल गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहहरु भएको बताउनभुएको छ । ‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरुले एमाले माथी हमला गरिरहेका छन्’ पोखरेलले भन्नुभयो ‘ किन भन्दा उनीह्रुको गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन् ।’ अराजकतावादीले घृणाको संस्ृकति फैलाउने र त्यसलाई एमालेले प्रतिरोध गर्छ भन्ने बुझेर निशाना एमालेलाई बनाएको उहाँले बताउनुभयो । नेपाली संस्कृति, सामाजिकता,सकारात्मक भावनामा उभिने पार्टी एमाले भएकोले यस्ता घेराबन्दीबाट कसैले आत्तिनु नहुने उहाँले स्पष्ट पार्नुभयो ।
एमालेको खोइरो खन्ने बाह्य शक्ति भएको उहाँको भनाइ छ । एमाले कमजोर भयो भने नेपाललाई कठपुतली बनाउन पाइन्थ्यो भन्ने सोचाइ थुप्रैमा रहेकोले त्यसको निसाना पार्टी र यसका नेतृत्व भएको उहाँले बताउनुभयो । ‘नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा गाभ्ने काम र देशका लागि स्वभाविमान प्रदर्शन एमालेले गर्यो । मुलुकमा स्थायित्वको खोजी गर्यो ’ पोखरेलले भन्नुभयो ‘ एमाले कमजोर भएको भए देशलाई कठपुतली र विदेशीको गीर खेल्ने ठाउँ बनाउथें । त्यो स्वार्थ पुरा गर्न एमालेले दिएको छैन । त्यसैले एमाले र यसको नेतृत्वप्रति हमला भइरहेको छ ।’


महासचिव पोखरेलले एमालेका मुल नेता र प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीप्रति हमला बढेकोले त्यसको प्रतिरोध गर्न सबैलाई उहाँले निर्देशन दिनुभएको छ । आज एउटा नेतालाई हमला गर्नेले भोली अरुलाई नै बाँकी नराख्ने भएकोले त्यस्ता शक्तिहरुलाई आजै निस्तेज पार्नुपर्ने उहाँको भनाइ छ । ‘प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा केपी शर्मा ओलीलाई आज आक्रमणको निशाना बनाइएको छ’ पोखरेलले भन्नुभयो ‘आजै यो कुरालाई निस्तेज नगरे भोली अन्य नेतृत्वप्रति पनि यो निशाना सोझिन्छ । ’ उहाँले सामाजिक सञ्जालमा राजनीतिक भनाइहरु राख्दा माथी उल्लेख गरिएका चारैवटा शक्तिहरुले आक्रमण गर्ने गरेको बताउनुभयो । यस्तो आक्रमणबाट कति पनि हतोत्साहित नहुन कार्यकर्तालाई सम्झाउनुभएको छ । ‘राजनीतिक कुरा सामाजिक सञ्जालमा राख्दा गाली खाइन्छ, मुख छाड्छन् भनेर भनेर एमालेका केही नेता कार्यकर्ताले पास्नी,बिहे,पार्टी,पारिवारिक तस्विर मात्र हालेको देख्छु’ महासचिव पोखरेलले भन्नुभयो ‘एमालेहरुले यसो गर्न सुहाउदैन । आफ्ना राजनीतिक कुरा राख्ने र सामुहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्दछ । ’

Skip This