ललितपुर-नेकपा (एमाले) केन्द्रीय सचिवालयको ५३औं बैठक सम्पन्न भएको छ। आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एमालेकाे केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको ५३औं केन्द्रीय सचिवालय बैठकले विभिन्न प्रस्तावहरुमाथि छलफल गरी निर्णय पारित गरेको हाे।
बैठकपछि पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्ति अनुसार बैठकमा मुलुकको बदलिँदो परिस्थिति, पार्टीको विधान महाधिवेशन, सरकारका काम र बजेट लगायत विषयमा छलफल सहित निर्णय गरेको छ।
बैठकले सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक ठहर गर्दै यस अवधिमा सरकारले राजनीतिक स्थायित्व कायम गर्न, अर्थतन्त्रलाई लयमा फर्काउन र जनविश्वास बढाउन उल्लेख्य काम गरेको निष्कर्ष निकालेको छ। साथै, सरकारद्वारा सुशासन र सेवा प्रवाहमा दिनुपर्ने ध्यानबारे बैठकले विशेष जोड दिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज हलमा गर्ने निर्णय बैठकले गरेको छ। महाधिवेशनमा प्रस्तुत गरिने दस्ताबेज तयार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेललाई सङ्गठनात्मक प्रस्ताव तयार गर्ने जिम्मेवारी दिइएको छ।
ती प्रस्तावहरू केन्द्रीय कमिटीको आगामी साउन ५ गते बस्ने बैठकमा पेश गरिनेछ। त्यसअघि साउन २ गते पोलिटब्युरो बैठक आह्वान गरिएको छ। यसै बिच २०८२ चैत मसान्तसम्मको पार्टी सदस्यता नवीकरण सम्पन्न भइसकेको र अब अभिलेखीकरणको कार्य यही असार मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ।
बैठकले पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। साथै, बैठकले पाँच वटा समसामयिक प्रस्ताव पारित गरेको छ।
पहिलो प्रस्ताव इरान-इजरायल युद्धसम्बन्धी रहेको छ। दुई साता लामो युद्धले खाडी क्षेत्रको शान्ति र स्थायित्वमा चुनौती उत्पन्न गरेको भन्दै युद्ध विरामको इमानदार पालना गर्न दुवै पक्षलाई आग्रह गरिएको छ। साथै, यस्ता तनावलाई नचर्काउन शक्ति राष्ट्रहरूलाई आग्रह गरिएको छ। युद्धको असर खाडी र इजरायलमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षामा परेको भन्दै सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने भनिएको छ।
दोस्रो प्रस्तावमा भिजिट भिसाको दुरुपयोगबारे संसदभित्र उठेका प्रश्नका सम्बन्धमा छानबिन समिति बनाइनु सकारात्मक भएको जनाउँदै, संसदमा भइरहेको प्रतिपक्षी दलहरूको अवरोध र असंसदीय व्यवहारप्रति आपत्ति जनाइएको छ।
तेस्रो प्रस्ताव दैलेखमा भएको मिथेन ग्यास पत्ता लागेको विषयमा केन्द्रित छ। प्रारम्भिक अध्ययन अनुसार ११२ अर्ब मेट्रिक टन मिथेन ग्यास रहेको उल्लेख गर्दै यस परियोजना र नवलपुरको धौवादी फलाम खानीलाई व्यावसायिक उत्पादनसम्म पुर्याउन सरकारलाई विशेष ध्यान दिन आग्रह गरिएको छ।
चौथो प्रस्तावमा वर्षायाममा पहिरोले प्रभावित पूर्व-पश्चिम राजमार्गको दुम्किवास-दाउन्ने खण्ड, बिपी राजमार्गको रोशी-नेपालथोक खण्ड लगायतका स्थानहरूको अबरोध समस्याबारे तत्काल सरकारको सक्रियता आवश्यक भएको जनाइएको छ। साथै, पार्टी पंक्तिलाई विपद् व्यवस्थापनमा तयारी अवस्थामा रहन आह्वान गरिएको छ।
पाँचौँ प्रस्तावमा पार्टीका वरिष्ठ नेता र केन्द्रीय सल्लाहकार परिषद्का सदस्य गणेश पौडेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। पर्वत र गण्डकी क्षेत्रमा कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान स्मरण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ। त्यस्तै, स्थायी कमिटी सदस्य लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको असामयिक निधनप्रति पनि बैठकले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
बैठकले सङ्गठनात्मक रूपमा विधान महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै जनस्तरमा पार्टीको प्रभाव विस्तार गर्न सबै तहका कमिटीहरूलाई सक्रिय रहन निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख छ।



प्रतिक्रिया