सुनसरी-कोशी प्रदेशका शैक्षिक संस्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन आउनुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका साझा समस्याहरुप्रति सबै दल र नागरिक गम्भीर बन्नु पर्ने बताउनुभएको छ।
इटहरीस्थित जनता उच्च माध्यमिक विद्यालयको ६८औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम र स्थानीय जनसमुदायले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले आफ्नो ध्यान शिक्षा, रोजगारी, स्वास्थ्य र जलवायु परिवर्तनले निम्त्याएका समस्याहरुमा केन्द्रित रहेको बताउनु भयो।
पूर्व राष्ट्रपति भण्डारीले नेपाल प्रतिभाहरुको खानी भएकाले शिक्षा प्रणालीले प्रतिभाहरुलाई देशभित्रै सेवा गर्न प्रेरित गर्न नीतिगत पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै देशमा उत्पादित जनशक्ति देशभित्रै रहन सक्ने वातावरण सिर्जना हुनुपर्ने बताउनुभयो । शिक्षा र राजनीति एकअर्काका परिपुरक रहेकाले राजनैतिक सोच र नेतृत्वले शिक्षाको पुनर्संरचनामा यथेष्ट ध्यान दिनु पर्ने आवश्यकता पूर्व राष्ट्रपति भण्डारीले औंल्याउनुभयो।
नेपालको औपचारिक शिक्षाको इतिहास करिब १०० वर्ष पुरानो रहेकोमा नेपालको शिक्षाले जुन रुपमा राष्ट्रिय सोच र आत्मनिर्भरता निर्माण गर्नुपर्ने हो त्यसमा अझै धेरै पहलकदमीहरुको आवाश्यकता रहेकाले सामुहिक जिम्मेवारी र ब्यक्तिगत इमान्दारिताले मात्र त्यसको परिपूर्ति गर्न सकिने कुरामा पूर्व राष्ट्रपति भण्डारीको जोड थियो ।
विद्यालयको आधारभूत तहदेखि नै बालबालिकालाई उपयुक्त शैक्षिक, पारिवारिक र सामाजिक वातावरण प्रदान गर्दै आत्मनिर्भर, राष्ट्रप्रेमी र ‘स्मार्ट’ जनशक्ति निर्माण राष्ट्रको आवश्यकता भएकाले सबै राजनैतिक दलहरु, आम जनसमुदाय र बौद्धिक क्षेत्रको साझा सरोकारको विशय शिक्षा हुनुपर्ने उहाँको भनाइ थियो । पढाइ, उद्यम र रोजगारीलाई एकअर्काको परिपुरक बनाउन सक्ने गरी नीतिगत र संरचनात्मक सुधार, पाठ्यक्रम, पूर्वाधार र जनशक्तिको हालको अवस्थालाई मसिनो गरी पुनरावलोकन गर्नुपर्ने धारणा उहाँले राख्नुभयो।
१२ कक्षा पास विद्यार्थीहरुले किन मुलुकका विश्वविद्यालय पढ्न छाडेर बाहिर जान खोजिरहेका छन् भन्ने कुरा आम चासो र सरोकारको विषय हुनुपर्ने बताउँदै कम्तिमा स्नातक तहसम्म नेपालमै पढ्नका लागि आफ्ना छोराछोरीलाई प्रेरित गर्न आम अभिभावकहरुलाई पूर्व राष्ट्रपति भण्डारीले अपिल गर्नुभयो।
गुणस्तरका समस्याहरु नीतिगत र संरचनात्मक सुधारमार्फत क्रमिक रुपले समाधान हुँदै जाने हुँदा अहिलेको शिक्षाको गुणस्तरले मात्र विद्यार्थीहरुलाइ बाहिर जान प्रेरित नगरेको भन्दै बाहिर जाने भन्ने आम मनोवैज्ञानिक धारणालाई चिर्न अभिभावक, शिक्षक र नागरिक अगुवाहरुले साझा पहलकदमी लिन आह्वान उहाँले गर्नुभयो । त्यसैगरी स्वास्थ्य सेवालाइ सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य जनशक्ति र पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता रहेको र स्वास्थ्य क्षेत्र का नर्सिङ्ग, बीबीएस, एमडीलगायतको पठनपाठनमा देखिएका नीतिगत समस्याहरुलाइ तत्काल समाधान गर्नुपर्ने उहाँको जोड थियो।
प्रतिक्रिया