धनगढी-नेकपा एमाले पोलिटव्यूरो सदस्य शान्ता चौधरीले देशलाई समृद्ध बनाउन सबैले उद्यमशिलतामा जोडिन आग्रह गर्नुभएको छ। उद्यम र उत्पादन विनाको समृद्धि सम्भव नभएको भन्दै चौधरीले सुरुवाट आफैंबाट गर्नुपर्नेमा जोड दिनुभयो।
दश दिने अचार तथा मसेउरा र गुन्द्रुक उत्पादन तालिमको समापन समारोहमा बोल्दै चौधरीले समृद्धि पनि खोज्ने उद्यमशिलताका लागि संघर्ष पनि नगर्ने कुरा दन्तबजान मात्रै भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीलाई समृद्धि पनि चाहिएको छ, सुख पनि खोजिएका छौं, धेरै आम्दानी होस् भन्ने चाहना पनि छ, तर संर्घष छैन, यसो भए सम्भव छैन।’

अचार उद्यमी समेत रहेकी चौधरी दश दिनदेखि बाजुरामै हुनुहुन्छ। महिलालाई अचार तालिमको प्रशिक्षण दिन बाजुरा आउनु भएको हो। सुरुमा त केही गर्ने इच्छाशक्ति चाहियो, सोच बनाउनु पर्यो, अनि सीप आर्जनमा लगानी गर्न सक्नु पर्यो, त्यसपछि मात्रै उद्यम विकास हुने र आम्दानी गर्न सकिने चौधरीले बताउनुभयो।
‘काम कोही नगर्ने, उत्पादनमा कसैको ध्यान नै छैन। तर देशको समृद्धिको सपना देख्ने, आफ्नो आम्दानी बढोस् भन्ने सबैमा चाहना भएता पनि काम र उद्यम केही नगर्ने,’ उहाँले भन्नुभयो, ‘त्यो दिवा सपना हो, कहिल्यै पुरा हुँदैन।’ प्रत्येक घर र परिवार उत्पादनसँग जोडिनु पर्ने चौधरीले सुझाव दिनुभयो।

तालिम लिने, सीप सिक्ने तर कार्यान्वयन नगर्ने यो परिपार्टीको अन्त्य हुनुपर्ने उहाँले बताउनु भयो। राज्यलाई केही दिएन पनि सीप सिकाएको छ, सीप सिक्नका लागि लगानी गरेको छ, फेरि पनि सरकारलाई नै दोष, यो कुरा बाजुराका अचार तालिम लिएका दिदीबहिनीहरुसँग सुन्न नपरोस् उहाँले भन्नुभयो।
आफ्नो राजनीतिक काम छोडेर महिलालाज्ञ उद्यमी बढाउनकै लागि बाजुरा आएको नेता चौधरीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘१५ दिन बित्यो, १० दिन म तालिम दिनमै बिताएँ, तर पनि यो मेहनतबाट केही उपलब्धी भएन भने, त्यो भन्दा दुखद अरु केही हुँदैन्।’ बडीमालिका नगरपालिकाले महिलाकै जीवन स्तर उठान गरेको लगानीको पनि प्रतिफल आउनु पर्नेमा उहाँको जोड छ।
सुखी नेपाली, समृद्ध नेपालको नारा यस्तै उद्यम र उत्पादनले मात्रै संभव हुने उहाँको दाबी छ। उहाँले भन्नुभयो, ‘महिलाहरु अब स्मार्ट हुनुपर्छ, पहिरन, बोली, अडान र उत्पादन सबैमा महिलाले गर्न सक्छन् भन्ने पार्नुपर्छ । त्यो सीप र इच्छाशक्तिबाट हुने हो तपाईहरुले सीप सिक्नुभो, अब अचार र अचारका लागि आवश्यक कच्चा पदार्थ बाजुराबाटै लिन पाउनु पर्छ।’

आफूले कमलहरी हुँदाको संर्घष सुनाउँदा र १० दिने तालिमपछि काठमाडौं फर्किन्छु भन्दा सहभागी ६० जना मध्ये अधिकांशले आँसु खसाएका थिए। मेरो आउने हप्ताबाट हप्ताबाट स्नातक तेस्रो वर्षको परीक्षा छ, अचार उद्योगको व्यवस्थापनको काम पनि छ। राजनीतिक काम पनि गर्नै पर्ने छ। आज हामी छुटीन्छौं, तपाईलेहरुले उत्पादन गरेको कच्चा पदार्थ र अचार लिन आउँछु, शान्तिले सहभागीलाई बताउनुभयो।
प्रतिक्रिया