अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो


चितवन-अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ। विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ। ‘पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ। यो मौसममा रोग देखिने गर्दछ, पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झन् बढ्छ । जसले उत्पादन घटाउँछ’, उहाँले भन्नुभयो।

नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार उत्पादन घटेपछि माग धान्न कठिन भएको छ। सङ्घले आजदेखि लागू हुनेगरी समर्थन मूल्य तोकेको छ। बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट रु.चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ। दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको छ।

व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट) को ठूलो रु .तीन हजार ५४० र मझौला रु तीन हजार ३३० मा बिक्री गर्ने गरेका अध्यक्ष पोखरेलले बताउनुभयो। चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले २८ हजारदेखि ३० हजारमा झरेको उहाँले बताउनुभयो। गर्मीसँगै दानाको मूल्य बढेको र अण्डाको मूल्य कम हुँदा धेरै किसानले कुखुरा बेचेकाले नयाँ चल्ला राख्न सकेका छैनन्। अण्डाको मूल्य घट्दा धान्न नसकेर धेरैले माउ कुखुरा बिक्री गरेकाले पनि उत्पादन घटेको हो।

धेरै किसान विस्थापितसमेत भएको अध्यक्ष पोखरेल बताउनुहुन्छ। गत वर्ष प्रतिक्रेट रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्छ ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवन र आसपासका जिल्लाबाट यहाँ ल्याइएका नमूना हेर्दा ५० फार्ममा एच ९ ९एचनाइन० रोगको सङ्क्रमण देखिएको छ। यससँगै गम्बारो, साल्मोनेलाजस्ता समस्या छन् । जसले गर्दा अण्डाको उत्पादन घटेको उहाँ बताउनुहुन्छ। वर्षात्को समयमा चर्को गर्मीसँगै ढुसीजन्य आहारका कारण रोग बढ्ने र उत्पादन घट्ने प्रमुख डा श्रेष्ठ बताउनुहुन्छ।

Skip This