काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले पार्टी र समूह हेरेर फैसला गर्ने गरेको आरोप लगाउनुभएको छ।
मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त आदेशले आफू अचम्ममा परेको टिप्पणी पनि गर्नु्भयो।
हिजो सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको आदेशप्रति अध्यक्ष ओलीले असन्तुष्टि जनाउनुभएको हो।
संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान राखेको भए पनि तीन दिन अघि नै सर्वोच्चले २४ घण्टाको अवधि दिएको भन्दै संविधान विपरीत आदेश आएको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘कानून हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ। संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ। हिजो सर्वोच्चबाट एक महिना पुग्न चार दिन बाँकी होला। सर्वोच्चले २४ घण्टाभित्र लिनु भन्छ। म सुन्दा आश्चर्य चकित भएँ, चार दिनपछि त एक महिना पुग्छ तीन दिन अगाडि तान्नको लागि संविधान विपरीत आदेश दिन्छ।’
अध्यक्ष ओलीले आफूले अदालतको फैसलालाई सम्मान गर्ने भन्दै आफ्नो र संविधानको मर्यादा राखेर फैसला गर्नुपर्ने बताउनुभयो।







प्रतिक्रिया