अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिउरी कटानले मह उत्पादनमा कमी

चिउरी कटानले मह उत्पादनमा कमी


जाजरकोट- वर्षेनी वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने क्रम बढेपछि मह उत्पादनमा कमी आएको हो ।

जिल्लाको नलगाड नगरपालिका, भेरी नगरपालिकामा चिउरीको जङ्गल मासिने क्रम बढेको छ । पशु चौपायालाई घाँस खुवाउनसमेत चिउरीकै प्रयोग गर्दा फूल उत्पादनमा कमी आएको हो । घर निर्माण गर्दा काठका रुपमा समेत जथाभावी सामुदायिक वन समूहबाट चिउरी कटान गरेपछि समस्या थपिएको छ ।

चिउरी संरक्षण गर्नुपर्ने ठाउँमा जथाभावी कटान गरेपछि निकै समस्या आएको प्रधानमन्त्री कृषि आधुनिक परियोजना जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा मह उत्पादनमा ५० प्रतिशत गिरावट आएको प्रमुख बस्नेतको भनाइ छ ।

त्यस्तै, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले पर्या-प्रणालीमा सबै एक अर्कासँग सम्बन्ध राख्ने भएकाले वनजङ्गल संरक्षण गर्नु नै पहिलो दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब चिउरी संरक्षणमा जोड दिनका लागि सचेतनामूलक कार्यक्रम गरी सबैलाई बुझाउनु पर्ने आवश्यकता महसुस भएको छ । मह उत्पादन भेरी नगरपालिका-१ मा बढी हुने भएकाले त्यसमा हामी विशेष जोड दिन्छौँ ।’

जाजरकोटको ब्राण्डका रुपमा स्थापित भएको सेरेना मौरीको मह वर्षेनी उत्पादनका गिरावट आउँदा सरोकारवाला निकाय चिन्तित भएको मौरी जोनले बताएको छ । बहुउपयोगी चिउरीका अनेक गुण रहेका छन् । पानीको मुख्य स्रोतदेखि यसको फलबाट उत्पादन हुने विभिन्न वस्तुबाट समेत राम्रो आम्दानी गर्न सकिन्छ ।

समुद्र सतहबाट २०० देखि एक ५०० मिटरसम्मका भिरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीको रुख १५ देखि २० मिटरसम्म अग्लो हुन्छ । घमाइलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धाइरो, सल्लो, टुनी भएका ठाउँमा राम्ररी हुर्कन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्रामसम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षका रुपमा लिइन्छ ।

हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कात्तिकदेखि माघसम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र एकदेखि तीन वटासम्म बिजुला हुन्छन् । रासस