अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फागुन ९ मा प्रधानमन्त्री किन सधैं दहचोकमा ?

फागुन ९ मा प्रधानमन्त्री किन सधैं दहचोकमा ?


काठमाडौं- न कुनै उत्सव न कुनै दिवस । देशको कार्यकारी चाँही कुनै दिवस जस्तै हरेक वर्षको फागुन ९ गते चन्द्रागिरि नगरपालिका वडा नं एकको दहचोकमा पुग्नुहुन्छ । केपी शर्मा ओली तत्कालिन नेकपा (एमाले)को अध्यक्ष भएकै बेला देखि फागुन ९ गते दहचोकको डाँडामा पुग्नुहुन्छ । त्यहाँ विभिन्न योजनाको शिलान्यास, उदघाटन र निरीक्षण गरेर फर्कनुहुन्छ ।

कस्तो ठाउँ हो दहचोक ?

ठाउँको नाम दह चोक उचाई करिब २३ सय फिट । तथापी यस डाँडोमा इन्द्र दह छ । चन्द्रागिरि नगरपालिका वडा नं १ मा अवस्थित यस दहचोक नेपाल एकीकरणको एउटा ऐतिहासिक स्थल हो । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीका अनुसार नेपाल एकीकरणका बेला राजा पृथ्वीनारायण शाहका सेनापती कालु पाण्डेको टाउको गाडिएको ठाँउको दहचोक । पाण्डेले कीर्तिपुर आक्रमण गर्न जाने बेलामा आफ्ना सेनाहरुलाई दुईवटा कुरा भनेका रहेछन् । पहिलो म युद्धको कमाण्डर हुँ । हामी मार्न र मर्न नै हिडेका हौं । त्यस कारण हामीले कीर्तिपुरेलाई मार्न पनि सक्छौं र उनीहरुको हातबाट मारिन पनि सक्छौं । यदी म कीर्तिपुरेबाट मारिए भने मेरो शिर गोर्खा र नुवाकोट देखिने ठाउँमा गाडिदिनु ।

पाण्डेले भने जस्तै उनी कीर्तिपुरेका हातबाट मारिए । उनको शरीर कीर्तिपुरतिरै गाडिए, दबाइयो तर शिर गाड्न चाँही उनको यक्ष बमोजिम गोर्खा र नुवाकोट एकै ठाउँबाट देखिने ठाउँको खोजी गरियो । त्यस क्रममा दहचोकको डाँडोबाट यी दुवै जिल्ला देखिने पत्ता लागेपछि त्यस ठाउँमा लगेर गाडिएको वडा नं १ एक वडा अध्यक्ष राजेन्द्र केसी बताउनुहुन्छ । “यो ठाउँ नेपाल एकीकरणको एउटा ऐतिहासिक ठाउँ हो । कालु पाण्डेले कीर्तिपुर हमला गर्नु अघि पनि यहँँबाट रेकी गरेको किंवदन्ती छ,” केसी भन्नुहुन्छ “एकीकरणका लागि काठमाडौं हमला गर्न पृथ्वीनारायण शाहका तर्फबाट धेरै पटक दकचोकमा बसेर रणनीति बनाएको इतिहास पनि छ ।”

प्रधानमन्त्री किन सधैं दहचोकमा ?

२०७३ साल साउनमा सरकारबाट बाहिरिएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओली नेपाल राष्ट्र निर्माण गर्ने, नेपालको राष्ट्रिता संरक्षण गर्ने ऐतिहासिक व्यक्तित्व र स्थलहरुको संरक्षणमा हुनुहुन्थ्यो । यस क्रममा थुप्रै र गढी र किल्लाहरुको निरीक्षणमा उहाँ पुग्नुभएको थियो । पार्टीको प्रचार र राष्ट्रियताको अभियानलाई सशक्त पार्न तत्कालिन एमालेले मेची महाकाली अभियान सञ्चालनको तयारी गर्दै थियो ।

“यो ठाउँ नेपाल एकीकरणको एउटा ऐतिहासिक ठाउँ हो । कालु पाण्डेले कीर्तिपुर हमला गर्नु अघि पनि यहाँबाट रेकी गरेको किंवदन्ती छ,” वडा नं १ एक वडा अध्यक्ष राजेन्द्र केसी भन्नुहुन्छ “एकीकरणका लागि काठमाडौं हमला गर्न पृथ्वीनारायण शाहका तर्फबाट धेरै पटक दकचोकमा बसेर रणनीति बनाएको इतिहास पनि छ ।”

एकदिन साँझ आफ्नो निवास बालकोटमा केही स्थानीय नेताहरु आए । उहाँहरु दहचोकको काठमाडौं जिल्ला नै भएर पनि पिछडिएको ठाउँ, सडक कच्ची सडक मात्र भएकोले त्यहाँको विकासमा ध्यान दिन उहाँहरुले माग गर्नुभयो । त्यही कुराकानीमा कालु पाण्डेको प्रसंग निस्कियो । तर विकास माग्न जाने टोलीले चाँही त्यहाँ पृथ्वी नारायण शाहको सालिक बनाउन माग ग¥यो । ओलीले त्यसलाई प्रतिवाद गर्नुभयो । “नेपाल एकीकरणका नायक पृथ्वी नारायण मात्र होइनन् बरु उनलाई पृथ्वी नारायण बनाउन कालु पाण्डेहरुको ठूलो हात र साथ छ । यदि कालु पाण्डे हुन्थेनन् भने पृथ्वी नारायण शाहले एकीकरण अभियान सफल पार्न सक्दैन थिए । त्यस कारण त्यहाँ कालु पाण्डको सालिक निर्माण गर्नु पर्दछ,” ओलीले २०७४ सालमा दहचोकमा आयोजित कार्यक्रममा वर्षदिन अघिको कुरा सम्झनुभएको थियो ।

२०७३ को फागुन ९ गते । तत्कालिन अध्यक्ष ओलीको कुनै सार्वजनिक कार्यक्रम थिएन त्यस दिन । तर साढे १० बजेतिर स्वकीय सचिवालय र सुरक्षाकर्मीलाई बाहिर निस्कन तयारी गर्न भन्नुभयो । “बालकोट निवासबाट हामी निस्कियौं तर कहाँ जान लागेका भन्ने हामीलाई थाहा थिएन,” त्यस बेलाका स्वकीय सचिव अनिश दाहाल सम्झनुहुन्छ, “कलंकीबाट उकालो लागेपछि अप्ठ्यारो बाट पार गरेर हामी डाँडाँमा पुग्यौं । त्यो कालु पाण्डेको शिर गाडिएको ठाउँ रहेछ दहचोक । त्यसदिन पहिलो पटक त्यहाँ इन्द्रदह महोत्सव पनि आयोजना गरिएको रहेछ । ”

त्यसदिन नै दिन नै ओलीले अब हरेक वर्षको फागुन नौ गते दहचोक आउने यहाँको विकास, पर्यटन परम्परागत संरचना पुनर्निर्माणमा हर तरहले लाग्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

एकवर्ष घोषणा, अर्को वर्ष उदघाटन

२०७४ सालमा प्रधानमन्त्री भएको छ दिन पछि प्रधानमन्त्री फागुन नौ गते दहचोक पुग्नुभयो । त्यो वर्ष उहाँले काजी कालु पाण्डेको पूर्णको कदको शालिक शिलान्यास गर्नुभयो । त्यही साल उहाँले भ्यू टावरको शिलान्यास गर्नुभयो । कालु पाण्डेको शालिक २०७५ सालको फागुन नौ गते प्रधानमन्त्रीले अनावरण गर्नुभयो । तीन साल अघि निर्माण सुरु भएको भ्यू टावर आज उदघाटन हुने वडा अध्यक्ष केसीले जानकारी दिनुभयो । यस ठाउँमा रहेको मन्दिर तथा गढीहरु भूकम्पले भत्काएको थियो । “प्रधानमन्त्री ओलीले २०७४ सालमा नै मन्दिर पुनर्निर्माण हुने आश्वासन दिनुभयो थियो,” वडा अध्यक्ष केसी भन्नुहुन्छ, “यस वर्ष यहाँको मनकामना मन्दिर, कोत घर, पोखरी, गेट बनेको छ, सडक पिच बनेको छ । सबै प्रधानमन्त्रीको भ्रमणका कारणले सम्भव भएको हो ।”

वडा अध्यक्ष केसीको प्रधानमन्त्रीसँग एउटै माग छ, “हाम्रो गाउँ छिर्ने सडकहरु कच्ची छन् । ती सडक पनि पिच भए हामीलाई धेरै सुविधा हुने थियो प्रधानमन्त्रीज्यू ।”