अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा एकैपटक २१० स्थानीय तहमा सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ

प्रधानमन्त्रीद्वारा एकैपटक २१० स्थानीय तहमा सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशिक एवं स्थानीय तहको सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।

कार्यक्रमको आइतबार शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले सात प्रदेशका २१० स्थानीय तहमा एकैपटक कार्यक्रम शुभारम्भ भएको जानकारी दिनुभयो । कार्यक्रमले स्थानीय तह प्रादेशिक राजधानी एवम् राष्ट्रिय सडक सञ्जालसँग जोडिने छन् ।

प्रधानमन्त्री ओलीले सडक सञ्जाल विस्तारमा सरकारले महत्वपूर्ण काम गरेको प्रष्ट पार्नुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वीच अन गरी सो कार्यक्रमको शुभारम्भ गर्नुभयो । वर्तमान सरकार बनेपछि तीनवर्षे अवधिमा दुई, तीन, चार र छ लेनको सडक निर्माणमा तीव्रता दिएको उहाँले बताउनुभयो ।

सडकको स्तरोन्नति, नयाँ निर्माण, विस्तार तथा सडक सँगसँगै पुलहरूको निर्माणमा उपलब्धि भएको बताउनुभयो । सडक पक्का र सुरक्षित बनाउने काम सरकारले गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले सडक निर्माणमा प्राविधिक त्रुटि हुँदा बढी दुर्घटना हुने गरेकाले नयाँ सडकहरू त्रुटिरहित निर्माण भइरहेको प्रष्ट पार्नुभयो ।

बाटो आफैं सुरक्षित छैन भने यात्रुलाई कसरी सुरक्षित राख्ला ? जिज्ञासा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनताको जीवनको रक्षा होस् भन्नेमा सरकारले ध्यान दिएको छ, त्यसलाई केन्द्र भागमा राखेर काम गरिरहेको छ ।’

३९२ ठाउँबाट पक्की सडकको आवेदन आए पनि तत्काललाई २१० स्थानीय तहमा काम शुभारम्भ भएको र बाँकी ठाउँको छानबिनको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

‘विकासको गतिलाई अत्यन्त तीव्रताका साथ अगाडि बढाइरहेका छौँ, मन्त्रालयहरू काममा जुटेका छन्,’ प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘यो कार्यक्रम अगाडि बढेपछि सडक विकासमा अझ तीव्रता आउनेछ ।’