अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-तराई द्रुतमार्ग, मेलम्ची र बाहिरी चक्रपथका विषयमा छलफलमा

काठमाडौं-तराई द्रुतमार्ग, मेलम्ची र बाहिरी चक्रपथका विषयमा छलफलमा


काठमाडौं- प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकले अबका बैठकमा काठमाडौं-तराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ ।

प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने आयोजनामा छलफल गर्ने योजना बनाएको हो ।

अब बस्ने बैठकमा दु्रत मार्गका विषयमा रक्षा मन्त्रालय र नेपाली सेनासँग छलफल गर्ने योजना बनाइएको समितिका उपसचिव ओमबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार यही चैत ८ वा ९ गते बैठक हुनेछ । त्यसपछि क्रमशः मेलम्ची खानेपानी आयोजना र बाहिरी चक्रपथको विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बैठकमा सहभागी माननीयहरूले बढी समस्या देखिएका विषयमा छलफल गर्दै जान सुझाव दिनुभएको छ ।’

यसअघि गत पुस २ गते समितिको बैठक बसेको थियो । प्रतिनिधिसभा पुनः स्थापनापछिको पहिलो बैठकमा समितिका सदस्यहरूबीच मात्रै छलफल भएको छ ।

अब बस्ने बैठकहरूमा भने समितिले हेर्ने मन्त्रालयहरूका प्रतिनिधिलगायत सरोकार राख्ने संस्थाका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।