अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्यसबेलाको ‘बासी गुट’ र अहिलेको ‘माझ गुट’

त्यसबेलाको ‘बासी गुट’ र अहिलेको ‘माझ गुट’


महाकाली सन्धीलाई देखावटी निहुँ बनाएर २०५४ सालमा नेकपा एमाले विभाजन भयो । र, वामदेव गौतमको नेतृत्वमा नेकपा माले बन्यो । वामदेव गौतम, सिपी मैनाली, राधाकृष्ण मैनालीलगायत त्यतिबेलाका जल्दाबल्दा नेता र राजनीतिक भविष्य राम्रो ठानिएका युवा विद्यार्थी फाँटका केही उम्दा नेता कार्यकर्ताहरू नेकपा मालेतिर लागेको हुनाले देशव्यापी रूपमा मालेको पक्षमा जनलहर झैं देखिएको थियो । मालेको प्रचार-प्रसार र हल्लाखल्ला देख्दा लाग्थ्यो कि चुनावमा यस पार्टीले सय सिट त सजिलै नघाउँछ । धेरैजसो ‘बिश्लेषक’ र राजनीतिक पण्डितहरूको अनुमान पनि यस्तै सुनिन्थ्यो ।

अझ त्यसबेला माले पार्टी र यसका नेता कार्यकर्तामा देखिएको पैसाको छेलोखेलो नजिकबाट नियाल्नेहरू त भोट किनेरै भएपनि मालेले संसदमा स्पष्ट बहुमत ल्याउने आंकलन गर्थे । त्यतिबेला मालेसँग कति पैसा थियो भन्ने कुरा कि बामदेव-सिपीहरूलाई थाहा होला, कि त पार्टीका आर्थिक विभाग प्रमुख केशवलाल श्रेष्ठलाई ।

माले पार्टी कार्यालय रहेको बागबजार क्षेत्रका रेष्टुरेन्ट र भट्टी पसले साहुहरुले पनि त्यो पैसाबारे केही न केही अनुमान लगाएकै हुनुपर्छ । (त्यतिबेला एमाले किन फुट्यो र त्यसमा क-कसले के-कस्तो कसरत गरेका थिए, त्यो कति अर्बको प्रोजेक्ट थियो आदिबारे केही कुरा त कर्ताहरूले नै धेरै पछि सार्वजनिक पनि गरे । अझ बिस्तृत त रहस्यकै गर्भमा छ ।)

जे होस् काम फत्ते भयो, पार्टी फुट्यो । माले पार्टी गठन भएपछि उसको चहलपहल र फूर्तिफार्तीले तिब्र उचाइ लिइरहेकै बेला २०५६ सालमा प्रतिनिधिसभाको निर्वाचन हुने मिति तय भयो । निर्वाचन हुनुभन्दा केही दिनअघि एमालेका नेता केपी शर्मा ओलीले एउटा साक्षात्कार कार्यक्रममा टिप्पणी गरे, ‘आउँदो चुनावमा यो बासी गुटको देशव्यापी सान्दार सून्य सिट आउनेछ ।’ त्यतिबेला एमाले पङ्तीमा मालेलाई बासी (वामदेव-सीपी) गुट भनिन्थ्यो । जानेर वा अरूको लहलहैमा, मालेको कित्तामा लागेका मजस्ता धेरैलाई ओलीको त्यो टिप्पणी पचाउन साह्रै गाह्रो भएको थियो । तर, जब २०५६ बैशाख २० र जेठ ३ गते प्रतिनिधिसभाको निर्वाचन भयो, मालेको मतपरिणाम ठ्याक्कै ओलीले भनेजस्तै आयो ।

अहिले पनि माधव नेपाल-झलनाथ खनालहरू ‘बासी गुट’ कै बाटोमा देखिन्छन् । ‘विधि पद्दति’ को देखावटी कुरा गरेर कार्यकर्ता र बौद्धिक सर्कलमा भ्रम छरिएको भएपनि वास्तविकतासँग जानकार अनि बिगतमा मालेको हालत देखेरभोगेकाहरु ‘माझ (माधव-झलनाथ) गुट’ को वर्तमान चुरीफरी शत्प्रतिशत् ‘बासी गुट’ कै पुनरावृत्ति ठान्दैछन् । मानौं १०० जनाको एउटा समूह छ र त्यसमा ४/५ जना विद्रोह गरेर निस्किए भने धेरैको ध्यान ती ४/५ जनातर्फ नै जान्छ । मिडियाहरूको ध्यान पनि उनीहरुकै गतिविधिमा बढ्ता केन्द्रित हुन्छ । अर्कोतर्फ ९५/९६ जना छन् भन्ने कुरा गौणजस्तो बन्न जान्छ । यो आममनोविज्ञान र माधव-झलनाथहरूका अहिलेका हर्कत देख्दा मलाई पनि खाली तत्कालीन मालेको झझल्को मात्रै आइरहन्छ । आगे नेताहरूकै मर्जी !