अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल दक्षिण एसियाकै खुसी देश

नेपाल दक्षिण एसियाकै खुसी देश


काठमाडौँ — नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२१’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको हो । १४९ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल ८७ औं स्थानमा पुग्न सफल भएको हो ।

नेपालपछि माल्दिभ्स ८९, बंगलादेश १०१, पाकिस्तान १०५, श्रीलंका १२९ र भारत १३९ औं स्थानमा छन् । कोरोना भाइरसको संक्रमणको असर अघि र संक्रमणका समयमा सर्वेक्षण गरिएको हो । सर्वेक्षणका समय बंगलादेश र भारतमा भाइरस संक्रमणको असर उच्च थियो ।

विश्वको सबैभन्दा खुसी हुने मुलुकको सूचीमा नर्डिक मुलुक फिनल्यान्ड परेको छ । यस्तै, डेनमार्क र स्विट्जरल्यान्ड दोस्रो र तेस्रो स्थानमा छन् । आइसल्यान्ड र नेदरल्यान्ड्स क्रमशः चौथो र पाँचौं स्थानमा छन् । नवौं स्थानको न्युजिल्यान्ड शीर्ष १० भित्र पर्ने एक मात्र एसियाली देश हो ।

सूचीमा अमेरिका १९ औं स्थानमा परेको छ भने नेपालको उत्तरी छिमेकी मुलुक चीन ८४ औं स्थानमा छ । संस्थाले कोरोना भाइरस संक्रमणको बेलामा टेलिफोनमार्फत सर्वेक्षण गरेको पनि जनाएको छ । हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तान सूचीमा सबैभन्दा तल अर्थात् १४९ स्थानमा छ ।

त्यसैगरी, लेसोथो १४८, बोत्स्वाना १४७, रुवान्डा १४६ र जिम्बाबे १४५ औं स्थानमा परेका छन् । नेटवर्कका अनुसार सम्बन्धित मुलुकका जनताहरूले आफूलाई कति खुसी मान्छन् भनेर सर्वेक्षण गर्न थालिएको हो ।