अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारीको सही विचारले कम्युनिष्ट आन्दोलन निरन्तर उचाईमा : प्रधानमन्त्री

मदन भण्डारीको सही विचारले कम्युनिष्ट आन्दोलन निरन्तर उचाईमा : प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीले सही बिचार र बलियो संगठन बनाएकै कारण कम्यूनिष्ट आन्दोलन निरन्तर उचाइमा पुगेको बताउनुभएको छ । मदन आश्रितको २८ औं स्मृति दिवशका अवसरमा आज एक प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

मदन आश्रितको निधनसँगै नेपालबाट कम्युनिष्टहरु कमजोर हुन्छन् भनेर धेरैले अनुमान लगाए पनि त्यो सही सावित नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यी सबका बाबजुद कम्युनिष्ट आन्दोलन निरन्तर नयाँ उचाइतिर अगाडि बढिरहेको छ, किनभने भौतिक शरीर नरहे पनि उहाँहरुले हामीलाई सही विचार र सुदृर संगठन छाडेर जानुभएको थियो,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘ आज कम्युनिष्ट आन्दोलनको पहल र नेतृत्वमा राजतन्त्रको अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।’

प्रधानमन्त्री ओलीले दिवंगत नेताहरुको योगदान कै कारण नेकपा एमाले देशको ठूलो पार्टी हुन सकेको उल्लेख गर्नुभएको छ । नेकपाका संस्थापक पुष्पलालले अगाडि सार्नुभएको तर उहाँको जीवनकालमा पुरा नभएको संयुक्त जनआन्दोलन मदन भण्डारीका पालामा साकार भएको प्रधानमन्त्रीको भनाइ छ । ‘ कमरेड पुष्पलालले अगाडि सार्नुभएको तर उहाँको जीवनकालमा साकार हुन नपाएको संयुक्त जनआन्दोलनको कार्यदिशा कमरेड मदन भण्डारीको नेतृत्वकालमा सफल हुन सक्यो,’ प्रधानमन्त्रीको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले तीनबर्ष अघि आज कै दिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकताको पनि स्मरण गर्नुभएको छ । ‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो ’ प्रधानमन्त्रीले भन्नुभएको छ ‘तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन । आज नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ । हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित छौँ ।’

(योबेला डटकम आरकाइभ)