अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको विरुद्धमा सरकार, सर्वोच्च निर्वाचन आयोग र सभामुखसम्म सामेल छन् : विशाल भट्टराई

एमालेको विरुद्धमा सरकार, सर्वोच्च निर्वाचन आयोग र सभामुखसम्म सामेल छन् : विशाल भट्टराई


खोटाङ – नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले एमालेको विरुद्धमा गठबन्धन सरकारदेखि  सर्वोच्चका न्यायाधीश, निर्वाचन आयोग र सभामुखसम्म सामेल भएको आरोप लगाउनुभएको छ ।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजारमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले एमालेविरुद्ध लड्ने साहस अन्य दलमा नभएको दाबी गर्नुभयो ।

‘एमाले कमजोर छ भन्छन् एकातिर, अर्कातिर पाँच वटा पार्टी एक भएका छन् । त्यसमा सर्वोच्च अदालतका केही न्यायाधीशहरु मिसिएका छन् । त्यो गठबन्धनमा निर्वाचन आयोग छ, त्यो गठबन्धनमा सभामुख पनि सामेल छन्,’ भट्टराईले भन्नुभयो, ‘विचराहरुलाई एमालेसँग एक्लाएक्लै लड्ने साहस छैन। उनीहरुलाई कांग्रेसकै बैसाखी चाहिन्छ ।’

एमाले बलियो भएकै कारण आफ्नो पार्टीले निष्कासन गरेको मान्छेहरुको हस्ताक्षर र सनाखत गरेर निर्वाचन आयोगले पार्टी फुटाएको भट्टराईले तर्क गर्नुभयो। एमालेबाट निष्कासनमा परेका सांसदहरुको पद जोगाइदिएर सभामुखले पार्टी विभाजनमा मतियारको भूमिका खेलको उहाँको आरोप थियो ।

भट्टराईले सर्वोच्च अदालतको वाधाका कारण यो बेला मुलुकमा ताजा जनादेश सहितको सरकार आउन नपाएको बताउनुभयो। ‘अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको सदासदाका लागि थिएन । ६ महिनापछि ताजा जनादेश सहितको संसद ल्याउने गरी विघटन गर्नुभएको थियो,’ भट्टराईले भन्नुभयो, ‘त्यो संविधान विघटन र व्यवस्था विघटन होइन, हामीले विघटन गरेको भनेको ६ महिनाभित्र अर्को चुनाव गर्नका लागि थियो । यसबेला ताजा जनादेश सहितको मुलुकमा सरकार आइसक्थ्यो । तर सर्वोच्च अदालतले चुनाव गर्न दिएन ।‘

भट्टराईले गठबन्धन भत्काउने अस्त्रका रुपमा एमसिसीलाई पास नगर्ने बताउनुभयो । ‘एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा छैन । हामीलाई सरकार चाहिएको छैन । एमाले सत्तारुढ हुन आशा गरेको छैन,’ उहाँले भन्नुभयो, ‘एमालेले गठबन्धन भत्काउनका लागि एमसिसी पास गर्छ भनेर भ्रम छरिएको छ । एमालेलाई सरकारमा जान हतार छैन ।’

भट्टराईले एमालेबाट बाहिरिएका माधव नेपालको समूहलाई पार्टीको ‘छेस्को निस्किएको’ भनेका छन् । उहाँले महाधिवेशनबाट कार्यकर्ताको विश्वासले पार्टीको नेतृत्व लिने हिम्मत माधव नेपाल, झलनाथ खनाल र प्रचण्डमा नभएको टिप्पणी गर्नुभयो ।