अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रविद् श्रेष्ठको ‘नेपाल-बंगलादेश सम्बन्ध’ पुस्तक प्रकाशित

परराष्ट्रविद् श्रेष्ठको ‘नेपाल-बंगलादेश सम्बन्ध’ पुस्तक प्रकाशित


काठमाडौं- परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको पछिल्लो पुस्तक ‘नेपाल-बङ्गलादेश सम्बन्ध’ प्रकाशित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि हुने बङ्गलादेशको दुई दिने राजकीय भ्रमणको पूर्वसन्ध्यामा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले यो पुस्तक प्रकाशनमा ल्याएको हो ।

दुई मुलुकबीच बहुढाँचाको सम्पर्क सञ्जाल र ऊर्जा आपूर्तिमाथि चर्चा चुलिरहेकै बेला परराष्ट्रविद् श्रेष्ठले पुस्तक बाहिर ल्याउने प्रशंसनीय काम गर्नुभएको छ । आठ अध्याय र २२३ पेजमा फैलिएको यस पुस्तकमा लेखकले सन् १९७१ मा उदय भएको मुलुक बङ्गलादेशसँगको नेपालको दलगत सम्बन्ध, दुई मुलुकका सेना तथा व्यवस्थापिकाको सम्बन्धबारे चर्चा गर्नुभएको छ । पुस्तकमा विषयगत रुपमै व्यापार तथा आर्थिक सम्बन्ध, साँस्कृतिक तथा साहित्यिक सम्बन्ध र जनस्तरमा विद्यमान सम्बन्धबारे विहङ्गम विवेचना गरिएको छ भने अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय परिवेशमा देखा परेका दुई मुुलुकको पृथक भूमिकालाई केलाउने प्रयास भएको छ ।

तत्कालीन प्रतिनिधिसभाको परराष्ट्र तथा मानवअधिकार समितिको सभापति रहँदा सन् १९९८ मार्च ८ देखि १३ सम्म दश सदस्यीय सर्वदलीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बङ्गलादेश भ्रमणमा जानुभएका लेखक श्रेष्ठले पुस्तकमा सार्क क्षेत्रीय मञ्च, बिमस्टेक, विकास चतुष्कोण, कोलम्बो प्लान, एसियाली राजमार्ग र एसियाली रेलमार्गको महत्व र उपादेयता पुष्टि गर्ने प्रयास गर्नुभएको छ ।

बङ्गलादेशसँग बन्दरगाहसम्मको पारवहन मार्ग नेपालका लागि अपेक्षित रहेको र नेपालमा उत्पादित बिजुली बङ्गलादेशको खाँचो भएको धारणा राख्ने श्रेष्ठले ‘उज्यालो भविष्यका लागि दुई क्षेत्रको विकास’ भन्दै ‘जलस्रोत तथा ऊर्जाको विकास’ र ‘जडान’ भनेर क्षेत्र किटान गर्ने प्रयाश पुस्तकमा गर्नुभएको भेटिन्छ । उहाँले जलस्रोतबारेको क्षेत्रीय सम्मेलनमा भाग लिने सिलसिलामा तीन पटक बङ्गलादेश पुगेर अनुभव पनि सङ्गाल्नुभएको छ ।

पूर्व राजदूत श्रेष्ठ सन् १९९६ को जूनमा बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षण गर्ने नेपाली टोलीको सदस्य पनि हुनुहुन्थ्यो ।

पुस्तकको मूल्य २१५ रुपैयाँ राखिएको छ । परराष्ट्र मामिला ज्ञाता श्रेष्ठका ३३ वटा पुस्तक प्रकाशित छन् जसमा अधिकांश परराष्ट्र मामिलाका छन् ।