अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस

कविता : नारी  

कविता : नारी  


छ हाँसो खुसी त्यो कहाँ हो अगम्य
छ पीडा र सास्ती अझैसम्म सम्म
सही कष्ट, आरोप, दुर्वाच्य सारा
बन्यौ नित्य सेवी अरूको सहारा ।।

गुमाई सबै अस्मिता स्वाभिमान
बन्यौ फेरि आफैं कलङ्की समान
कठै१ आइलाग्छन् कयौँ बात, श्राप
नबोली सहन्छ्यौ तिमी मौन साथ ।।

तिमी शिक्षिता बेस छोरी तथापि
सकेनौ तिमी बन्न उम्दा बुहारी
अझै योग्य पत्नी तिमी मान्य छैनौ
जसै छोड्दिनौ न्याय पीडा सहन्नौ ।।

न छोरी हुँदा होस्, बुहारी हुँदा होस्
व्यथा एक नै हो न पत्नी हुँदा होस्
पुगेकी ठुलै ओहदामा जसै होस्
सह्यौ आत्मसम्मानमा गाढ चोट ।।

तिरस्कार, हिंसा, बलात्कार खेप्दै
बन्यौ सृष्टिकर्ता धरालो तिमी नै
खट्यौ अश्रुधारा पिएरै विषाक्त
कतै छैन कोही दिने आँट, साथ ।।

लुकाई छिपाई सबै दर्द पीडा
बन्यौ नित्य जल्दै अरूको सहारा
हराए, बिलाए सबै चाह तिम्रा
रहे स्वप्न इच्छा सबै ती अधूरा ।।

तिमी सक्दिनौ खोल्न पीडा तथापि
सहन्छ्यौ सदा मर्म सम्झेर देवी
छ के दोष तिम्रो र दोषी ठरिन्छ्यौ ?
गर्‍यौ के तिमीले बिकामी गनिन्छ्यौ ?

तिमी बोल्न थाल्यौ भने दुर्मुखा हौ
दबिन्छन् सबै चाह आफै दबिन्छौ
नबोलेर पीडा त्यसै खप्न सक्ने
छ संस्कार तिम्रो सधैं साम्य बन्ने ।।

तिमी धीर हौ शान्त बन्छौ व्यथामा
नआत्ती बरु धैर्य लिन्छौ विपत्मा
गुजारा चलायौ सही दुःख सारा
व्यथा त्यो उहीसाथ चल्दैछ आज ।।

तिमी फूल सौन्दर्य खोज्नेहरूमा
तिमी मूल हौ सार खिच्नेहरूमा
तिमी तृप्ति हौ प्यास मेट्नेहरूमा
तिमी हौ महत् मर्म बुझ्नेहरूमा ।।

तिमी ताल संगीत रच्नेहरूमा
तिमी साथ हौ मित्र खोज्नेहरूमा
तिमी श्रेष्ठ हौ सृष्टि कि छैन शङ्का
तिमीमा कतै पाउँदैनौँ निराशा ।।

तिमी मग्मगायौ छरी त्यो सुगन्ध
जसै चम्कियौ उड्छ त्यो अन्धकार।
बुझेनन् कसैले अझै मर्म तिम्रा
बुझेनन् महत्ता युगौंसम्म तिम्रा ।।

दमक–९, झापा