अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामुदायिक विद्यालयमा पढाउन आग्रह गर्ने पालिका अध्यक्षको भाइरल भिडियोको वास्तविकता

सामुदायिक विद्यालयमा पढाउन आग्रह गर्ने पालिका अध्यक्षको भाइरल भिडियोको वास्तविकता


काठमाडौं- अहिले सामाजिक सञ्जालमा एउटा भिडियो चर्चित छ । जहाँ केही मानिसहरूको बीचमा एक जना व्यक्ति जोशका साथ आफ्ना अगाडि बसेका महानुभावहरूलाई बोर्डिङमा होइन सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गर्दै हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत यसलाई ट्विटरमा शेयर गर्नुभएको छ । भिडियोमा भाषण गर्ने व्यक्ति धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामप्रसाद आचार्य हुनुहुन्छ । ‘अरूतिरका कार्यक्रममा पनि यस्तै भाषण त गर्दै हिँडिन्छ तर यो चाँही कसरी फैलिएर गयो मलाई थाहा छैन,’ आचार्यले नेपालीबहस डट कमसँग भन्नुभयो, ‘मैले यो चैत ११ गते बोलेको भिडियो हो । ’

यो भिडियो रेडियो राजमार्गका सञ्चारकर्मी आशिश ठकुरीले खिच्नुभएको थियो । रेडियो राजमार्गको फेसबुक पेजमा चैत १७ गते यो भिडियो अपलोड गरिएको छ । त्यसपछि यो भाइरल भएको हो । रेडियोको पेजबाट शेयर गरिएको भिडियोले १ हजार ९ सयभन्दा बढी कमेन्ट, १० हजारभन्दा बढी शेयर र २० हजारभन्दा बढी लाइक पाएको छ ।

भिडियोमा आचार्यले यसो भन्नुभएको छ, ‘कर तिरेको पैसाले तलब खानुहुन्छ त्यहाँको (माथी विद्यालय भवनतिर संकेत गर्दै) मास्टरले । अनि तपाईं त्यहाँ गएर भन्नुहुन्छ पढाइ राम्रो भएन । बेलामा आउनुहुन्न । क्लासमा पस्नुहुन्न । पसेर पनि जाँगर लाउनुहुन्न अरे । किन यसो गर्नुहुन्छ भनेर क्वोइसन गर्ने त्यहाँ । त्यही विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर बनाउने । बोर्डिंङचाँहि जस्ताले बार्‍या, जस्ता कै छानो भएको तातेर खप्नुटिक्नु हुँदैन । त्यहाँ पढाउँदा काइदा । ढलान गर्‍या चार/पाँच तले बिल्डिङ छ यहाँ । त्यहाँ पढाउँदा बेकाइदा । तपाईंहरू सुन्नुहोस् अहिले अब एसएलसी पछाडि मैले अस्ति घोषणा गरेको छु । अब प्लस टुमा साइन्स पनि यही पढाउने । फेरि अर्को भन्छु त्यो साइन्सको ल्याब सञ्चालन गर्न हिजो मात्र परिषदबाट मैले ३० लाख रुपैयाँ निर्णय गराएको छु । अनि तपाइचाँहि बोर्डिंङमा हाल्ने ? त्यसो भए त ३० लाख किन चाहियो ? त्यो विद्यालय भवन किन चाहियो ? गाउँपालिकाले किन दुख गर्नुपर्‍यो ? हामीले बुझेनौ एउटा कुरा । अरू कुरा के गर्ने भयौँ त भन्दा विद्यालयमा पढ्न जानुपर्‍यो भन्दा चाँही उ त्यहाँ राखिदिएको छ कचौरामा भात भनेर हिँड्ने । किताब छ कि छैन पनि थाहा छैन । कापी छ कि छैन पनि थाहा छैन । होमवर्क गर्‍यो कि गरेन पनि थाहा छैन । नुहाइदिनु पनि छैन, दाँत मोल्दिनु पनि छैन । अनि बोर्डिंङ जानु पर्‍यो भनेचाँहि टिफिनमा खाजा झुण्डाएर टाइ झुण्ड्याइ दिएर जुत्ता/मोजा लाइदिएर अनि कहाँ जान लागेको भन्दा छोरो पुर्‍याउन जाने लागेको भन्ने । अनि पुर्‍याउन पनि जान हुने बेलुका लिन पनि जान हुने । आफ्नो विद्यालयमा चाँहि कापी छ कि छैन थाहा छैन । किताब छ कि छैन थाहा छैन । बच्चाले किताब पात्रो जस्तो बनाइसको त्यो पनि हेर्नु छैन । होमवर्क गर्छ कि गर्दैन त्यो पनि हेर्नु छैन। विद्यालयमा पुग्यो कि पुगेन, त्यो पनि हेर्नु छैन । पैसा खर्च गरेपछि मात्र त्यसको महत्व आउँछ ।

त्यसकारण अघि मैले के भनेको भन्दा धारो चाँहि तपाईंहरूले बनाउनुपर्छ भनेको त्यसै भएर । पैसै नतिरेको कुरामा माया हुँदो रहेनछ यहाँ । किनभने त्यो विद्यालय पैसा तिर्नु पर्दैन । अनि माया भएन । तपाईंहरूलाई थाहा छैन होला । उ आमा हुनुहुन्छ यहाँ ठुलकान्छाको आमा यहाँ हुनुहन्छ । उहाँको बुबाहरूलाई थाहा छ । हामीले चपरा बोकेर बनाएको स्कुल त्यो । उतापट्टि गहिराको माटो बोकेर पोतेर चलाएको स्कुल त्यो । त्यो बेलामा पैसा हाल्नेलाई थाहा छ । त्यो बेला प्राविलाई निमावि बनाएको । त्यो निमाविलाई मावि र अहिले प्लस टु चल्ने बनाएको हो । अब तपाईले मेरा बालबच्चा यही क्याम्पस पढ्न पाउनु पर्छ भनेर पो भन्नुपर्छ । अब कहाँ बोर्डिंङको कुरा गरेको ? तपाईंहरूलाई मैले गाली गरेको होइन । बुझ्नु भएन त्यसकारण सम्झाउन खोजेको हो ।’

‘डाक्टर, पिएचडी होल्डर, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, केही सरकारी कर्मचारी र शिक्षासँग सम्बन्धित केही व्यक्तिहरूले भिडियो हेरेर फोन गर्नभएको छ । केही विदेशी विश्वविद्यालयमा पढिरहेका विद्यार्थीले पनि फोन गरेका छन्’

अध्यक्ष आचार्यले सो कुरा चैत ११ गते साविक केवलपुर गाविस-१ मा आयोजिक एक कार्यक्रममा बोल्नुभएको हो । ‘अहिलेको थाक्रे गाउँपालिका–९ मा एउटा कार्यक्रम थियो । डस्टविनहरू वितरण गर्ने । सुनार बस्ती हो त्यो । त्यहाँ खानेपानी पनि सरसफाइ कार्यक्रम पनि सञ्चालन भएको थियो । त्यहाँ साहस नेपालले डस्टविन वितरण कार्यक्रम राखेको थियो । त्यो कार्यक्रममा जाँदा मैले बोलेको हो,’ अध्यक्ष आचार्यले भन्नुभयो, ‘त्यहाँ नजिकै सामुदायिक विद्यालय छ । त्यसलाई हामीले कक्षा ११ मा विज्ञान संकाय सञ्चालन गर्न खोजेका छौँ । त्यहाँका स्थानीय अभिभावकको पनि अन्त जस्तै बोर्डिङप्रतिकोे आकर्षण बढी नै छ ।’

‘डाक्टर, पिएचडी होल्डर, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, केही सरकारी कर्मचारी र शिक्षासँग सम्बन्धित केही व्यक्तिहरूले भिडियो हेरेर फोन गर्नभएको छ । केही विदेशी विश्वविद्यालयमा पढिरहेका विद्यार्थीले पनि फोन गरेका छन्,’ उहाँले भन्नुभयो, ‘उहाँहरूले हामी शिक्षकहरूसँग बसेर अन्तरक्रिया गर्छौँ, सामुदायिक विद्यालयमा पढायका नयाँ विधिहरूको बारेमा जानकारी गारउछौँ भन्नुभएको छ । तपाईंको सामुदायिक शिक्षाप्रतिको सकारात्मक धारणालाई प्रशंशा गर्छौं भन्नुभएको छ ।’

उहाँले सामुदायिक विद्यालयप्रतिको विश्वास घटिरहेको अवस्थामा यसको महत्वको विषयमा स्थानीय अभिभावकलाई बुझाउन खोजेको बताउनुभयो । ‘गाउँमै बोर्डिङ भए पनि हुन्थ्यो नि त भन्ने आशय पनि मान्छेले व्यक्त गर्दछन् । त्यो विषयलाई खण्डन गर्दै मैले सामुदायिक विद्यालयमा हाम्रो लगानी छ । अहिले कक्षा ११ मा हामी साइन्स पढाउँदैछौँ । त्यो ल्याब व्यवस्थापन गर्दैछौँ भनेको हुँ,’ अध्यक्ष आचार्यले भन्नुभयो ।

सामुदायिक विद्यालयमा पनि प्रति विद्यार्थी १७ हजार १८ हजार रुपैयाँ त खर्च हुन्छ नि त । त्यो सन्दर्भ जोडेर सबै कुरा जानकारी गराएको आचार्यले बताउनुभयो । ‘उहाँहरूलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने र बोर्डिङप्रतिको जुन आकर्षण हो त्यसलाई अलिकति कम गराउने विषयलाई मैले जोडेको हुँ,’ आचार्यले भन्नुभयो ।