काठमाडौँ-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताउनु भएकाे छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार विज्ञान तथा सूचना प्रविधि विभागले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले अहिले इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को समय रहेको बताउनुभयाे।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाउनसके नेपालमा धेरै काम गर्न सकिने उहाँको भनाइ थियो। कृत्रिम बौद्धिकताको प्रयोग बढाउने बेला भएको पनि सभापति देउवाले बताउनुभयाे।
‘आजको समय नै इन्टरनेटको हो। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगहरु गर्न थालेका छौँ। यसको प्रयोग बढाउनसके नेपाल धेरै अघि बढ्ने कुरा बुझेको छु। हामी धेरै कुराहरु गर्न सक्छौँ, आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा। प्रविधि यहाँ पुगिसकेको छ। कृत्रिम बौद्धिकता, इन्टेलिजेन्स पनि आइसक्यो अब के गर्नुहुन्छ?,’ देउवाले भन्नुभयाे, ‘त्यसकारण अहिलेको बेला यसको सदुपयोग नेपालले, देशले, हाम्रो पार्टीले गर्नसके धेरै काम गर्न सक्छौँ। आर्टिफिसियल इन्टेलिजेन्स अब भविष्यको सपना होइन, अहिलेको आवश्यकता पनि हो। हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहहरूमा पनि प्रभावकारी रुपमा प्रयोग गर्न आवश्यक छ। सूचना र प्रविधिले जनतालाई छिटो, छरितो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनिय भुमिका खेलिरहेको छ। प्रविधिमैत्री योजनाहरुले जनताको जीवनशैली सरल, समावेशी बनाउँदै आएको छ। हामी सबै मिलेर प्रविधिमैत्री, परिवर्तनशिल, समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ।’







प्रतिक्रिया