अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजसेवाको कुरुप अनुहार

समाजसेवा राज्यको सहयोगी हो, विकल्प हुनै सक्दैन

समाजसेवा राज्यको सहयोगी हो, विकल्प हुनै सक्दैन


“मागेर समाजसेवा हुन्न भन्ने न्यारेसन अहिले भाइरल भा’को छ । हो, मागेर समाजसेवा हुन्न । तर मागेर कामै गर्न हुन्न भन्ने पनि होइन । यसलाई समाजसेवाको नाम दिनु पो सही होइन । ठूलो प्रोजेक्ट गर्ने भनेपछि एउटा जमातको खाइजीविका पनि त हुन्छ केही समयको लागि । दिने मान्छे छन् भने थोपा थोपा लिएर गाग्री भर्न हुन्छ । तर आफ्नो व्यवसाय नै छोडेर यसैलाई व्यवसाय बनाउन चाहिँ हुन्न । अनि कसैले दिएनन् भनेर कङ्कलासबाज गरेर रुन पनि हुन्न । घाँटी हेरेर हाड निल्ने हो । हाड फेला परेन भनेर घुँक्क घुँक्क रुन भएन । एउटै मानिसले यस्ता कति समाजसेवामा दान दिन सक्छ ?”

यही चैत १५ गतेको राम लोहनीको फेसबुक स्टाटसमा कुनै व्यक्ति वा समूहको नाम नतोकिए पनि कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेसनप्रति लक्षित छ भन्ने बुझ्न सकिन्छ । उनीहरुले फाउण्डेसन मार्फत कृषि तथा पशुविज्ञान विश्वविद्यालय भरतपुरको जग्गामा क्रिकेट रङ्गशाला बनाइरहेका छन् । तीन अर्ब रुपैयाँ भन्दा ज्यादा लागत अनुमान गरिएको त्यो रङ्गशालाको नाम गौतम बुद्ध अन्तराष्ट्रिय रङ्गशाला राखिएको छ । चल अचल सबै खाले लागत दान दातव्य र चन्दाबाटै पूरा गर्ने भनिएको छ । सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजना तथा समाजसेवाको उत्कृष्ट नमूना वा उत्कर्षको रुपमा प्रचारप्रचार गरिएकै छ । अन्तिममा परियोजना सम्पन्न गर्ने लागत नपुगेर बाँकी रकम जुटाउन मेची महाकाली अभियानमा लाग्नु बाध्य भएको भन्दै परियोजना सञ्चालकहरु धरधरी रोएको तस्बिर भिडियोहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आएपछिको प्रतिक्रिया थियो राम लोहनीको फेसबुक स्टाटस ।

समाजसेवाको उत्भव नै सामन्तवादी राज्यव्यवस्था र त्यो व्यवस्था मातहातको समाज व्यवस्थामा विकसित भएको हो । समान्तवादको उत्पत्तिसँगै वर्गहरु जन्मिए । सबैथोक भएका र शरीर बाहेक केही नभएकाहरु एउटै समाजमा भए । धर्म जन्मियो । धर्मले पाप र पुण्यको अवधारणा ल्यायो । पूर्वजन्मको कथा ल्यायो । कुनै व्यक्ति धनी हुनु र गरिब हुनुलाई पुर्वजन्मको फलको रुपमा परिभाषित गरियो । अनि धनिहरुले आफूलाई ज्यादा भएको सम्पत्ति पितृहरुको नाममा, वंशको नाममा अथवा आफ्नै नाममा बाटाघाटा, पुलपुलेसा, पाटी, धारा, चौतारा बनाउने, तथा मर्मत गर्ने, अनि गरिबदुःखीलाई सिधै अलिकति सहयोग गर्ने काम पुण्यकर्म भित्र पर्थे । पुण्य प्राप्तिको लागि स्थानीय आवश्यकता र हैसियत अनुसारका हितकारी काम गर्थे दाताहरु । ती कर्मले राज्यलाई पनि सहयोग गथ्र्यो, जनतालाई पनि । पुण्यले दातालाई मानसिक सन्तुष्टि दिन्थ्यो । त्यो सन्तुष्टि अभौतिक थियो, आत्मिक थियो, महसुस गर्नमात्रै सकिने खालको थियो । धार्मिक दृष्टिमा मृत्युपछि स्वर्ग पुग्ने अभिलाषा हुन्थ्यो त्यसमा ।

मिर्गौला रोगी, आगलागी पीडित, बाढी पहिरो पीडितको नाममा मात्रै हैन, मनोरञ्जन र खेलकुदको नाममा पनि गाडी रिजर्भ गरेर, माइक धन्काउँदै, रसिद बोकेर घरघरै पुग्ने टोलीहरुले कति रकम उठाउँछन्, अनि कति खास पीडितको हातमा पुग्छ, कुनै हिसाब किताब सार्वजनिक हुँदैन ।

समाजमात्रै हैन देशहरु पनि धनी र गरिबमा विभक्त भए । पूँजीवादको युगमा यन्त्रिकृत भएका देशहरु शक्तिशाली भए, परम्परामा निर्भर देशहरु कमजोर रहे । त्यो समाज र देशमा पनि धनिमानीले गरिब र समस्यामा परेकाहरुलाई अलिकति सहयोग गर्ने परम्परा कायमै रह्यो, त्यसलाई समाजसेवा भनियो । जतिजति वर्गहरु बीच आर्थिक खाडल फराकिलो बन्दै गयो समाजसेवाको दायरा पनि फराकिलो बन्दै गयो, हुनेखानेहरुले समाजसेवा गर्ने अबसर बढ्दै गयो । धनी देशमा भन्दा गरिब देशमा समाजसेवा फस्टाउने अवस्था आयो । धनी देशका समाजसेवीहरु पनि गरिब देशतिर समाजसेवा गर्न पुग्न थाले । व्यक्तिगत समाजसेवा संस्थागत भयो । सानो दायराको समाजसेवा अन्तर्राष्ट्रिकरण भएको जमानामा छौं हामी ।

समय र जुग स्थिर रहेन । पूँजीवादी युगबाट पनि हामी उत्तरआधुनिक साइबर युगमा छौं । सबैथोक परिवर्तन भएसँगै समाजसेवा पनि परिवर्तन भयो । रुप र सार दुवैमा । पहिला दाताले सिधै काम गथ्र्यो, प्रतिफल मानसिक हुन्थ्यो । अहिले नाम र दाम कमाउने माध्यम बन्यो समाजसेवा, त्यो पनि बिस्तारै हैन तत्कालै, उधारो हैन हाताहाती । अहिले समग्रमा दुइखाले समाजसेवाको बिगबिगी भएको छ । एक, कालो अनुहार सेतो बनाउने खालको । यस्ता समाजसेवीहरु जीवनभर कमाउने धन्दामा सक्रिय रहेकाहरु छन्– राज्यमा पहुँच भएकाहरु । कति पुख्र्यौली बिरासतको रुपमा त कतिले आफ्नै चतुर्‍याइँ र लगाबले आर्जन गरेको पहुँच र शक्तिको प्रयोग गरी अकुत सम्पत्ति आर्जन गरेकाहरु । भ्रष्टाचार, तस्करी र कमिसन गरी राज्य र जनतालाई ठगेर, लुटेर कमाएको सम्पत्ति जति मोजमस्त गर्दा पनि नसकिएपनि अवकास जीवनमा समाजसेवामा खर्च गर्नेहरुको ठूलो जमात छ ।

………………………………………………………..

सरकारी ओहदामा नभएपनि शक्तिको वरिपरि घुमिरहने अनि गैरकानुनी रुपमा सम्पत्ति कमाइरहनेहरुको पनि कमी छैन यो देशमा । उनीहरु विभिन्न शीर्षकमा चन्दाको वर्ष गराइरहेका हुन्छन् । कुनै मन्दिर, आश्रम, विद्यालय, अस्पताल, गरिबदुखीलाई टन्न दान गरेपछि जस्तोसुकै अपराध पनि मिनाहा हुने र कालो धन सेतो हुने संस्कारले जरो गाढेको छ समाजमा, दह्रो गरी । दोसल्ला र सम्मान किन्ने चलन पनि सुरु भइसकेको छ, कुनै संस्थालाई दान दिने, गज्जबले दानदिने दातालाई संस्थाले सम्मान गर्नु नाजायज हैन, तर हुन्छ सम्मान गर्ने सर्तमा दान, पहिलै अँध्यारो कोठामा तय हुन्छ कति दान गर्ने अनि कस्तो खाले सम्मान लिनेदिने । त्यस्ता सम्मानका दुईचार फोटा भएपछि वरिष्ठ समाजसेवी । सम्पूर्ण पापहरुबाट मुक्ति । दुई, बिचौलिया खालको । अहिले समाजसेवाको विचौलिया प्रवृत्ति हावी भयो । बिचौलियासम्म पनि ठिकै थियो, समाजसेवा गर्ने इच्छा भएको तर सिधै सक्रिय हुन नसक्नेको लागि बिचौलियाको सहयोग लिनुलाई नराम्रो नमानिहालौ । तर डरलाग्दो रुपमा दलाल र मगन्ते प्रवृत्ति हावी भयो समाजसेवामा । अर्काको पैसा आश, त्रास, सपना, नाम, अनेक देखाएर लिने अनि केही देखिने गरी खर्च गर्ने अनि बाँकी आफ्नो खाइ जीविका मात्रै हैन कमाउ धन्दा गर्ने समाजसेवीको ओइरो लागेको छ । जताततै माग्नेहरुको घुइँचो देख्न सकिन्छ । कमाउने कुनै साधन नभएर दुईछाक पेट भर्नकै लागि सडकमा हात पसार्नु व्यक्तिको बाध्यता हो । रसिद नै छपाएर, रकम नै तोकेर, मोलमोलाइ गरेर रकम असुल्ने चलनले समाजसेवालाई दलाल पेसा बनायो ।

अर्काको गाँस कटाएर आफूले लिन सकेको कुरालाई गौरवीकरण गर्दै प्रचार गर्नुको उद्देश्य र कार्यशैली अंग्रेजीमा भनिने ‘इमोसनल बार्गेनिङ’ सँग मिल्छ ।

मिर्गौला रोगी, आगलागी पीडित, बाढी पहिरो पीडितको नाममा मात्रै हैन, मनोरञ्जन र खेलकुदको नाममा पनि गाडी रिजर्भ गरेर, माइक धन्काउदै, रसिद बोकेर घरघरै पुग्ने टोलीहरुले कति रकम उठाउँछन्, अनि कति खास पीडितको हातमा पुग्छ, कुनै हिसाब किताब सार्वजनिक हुँदैन । बरु केटाकेटीले टिफिन खर्च कटाएर सहयोग गरेको, वृद्धहरुले वृद्धभत्ताको अंश काटेर दिएको, मजदुरले आधाछाक खाएर बचेको चन्दा दिएको, आमा समूहहरुले धुँवा र पसिनाको बचत कटाएर सहयोग गरेको जस्ता कुराहरु बढो गौरवका साथ प्रचार गर्छन् । अर्काको गाँस कटाएर आफूले लिन सकेको कुरालाई गौरवीकरण गर्दै प्रचार गर्नुको उद्देश्य र कार्यशैली अंग्रेजीमा भनिने ‘इमोसनल बार्गेनिङ’ सँग मिल्छ । न पैसा उठाउनेहरुले हिसाब पासदर्शी गर्छन्, न राज्यले कुनै नीतिनियमबाट नियन्त्रण गरेको छ, छ त अराजकतामात्रै । दिनभरी सहयोगको उठाउने र साँझमा सेकुवा रक्सीमा डुब्नेहरु नभेटिने हैन । अब त रसिद बोकेको मान्छे देखियो वा कतै माइक बजेको आवाज आयो भने भाग्नु पर्ने अवस्था सिर्जना भइसक्यो । थेगी नसक्नु भयो । मन नभएको निर्दयीको कोटीमा पर्ने भइयो, त्यो भन्दा भगौडा पो बेस हो कि ! अनि दुइटै खाले समाजसेवीहरु समाजसेवाको पूरा ब्याज खान राजनीतिमा प्रवेश गर्ने चलनपनि बाक्लै हुन थालेको छ । हरेक तहको हरेक निर्वाचनमा त्यस्ताखाले मान्छेहरु प्रतिस्पर्धामा उत्रिएको पाइन्छ ।

राज्यको ध्यान नपुगेका सानातिना क्षेत्रमा व्यक्ति वा समूहले स्वतस्फुर्त रुपमा सहयोग गर्ने काम हो समाजसेवा, खासमा, समस्यामा परेकाहरुलाई प्रत्यक्ष लाभ पुग्ने गरी, घुमाउरो पाराले हैन । अभियन्ता तारा बरालले भनेजस्तो हुनु भएन समाजसेवा । उनको भनाइ ठीक हो– टुँडिखेलमा भात बाँड्नेदेखि रङ्गशाला बनाउने खालको समाजसेवा भनेको समाजसेवाको खोलभित्र नाम र दाम कमाउने ध्याउन्न ठिक हैन । नागरिकका आधारभूत आवश्यकताहरु पूरा गर्ने दायित्व राज्यको हो । राज्य कमजोर भएपछि समाजका सबैतिर भ्वाङ् पर्छन् । समाजसेवीहरु तिनलाई टाल्ने हैन झन् ठूलो बनाउँदै तलतिर हात पसार्छन् । जति कमजोर राज्य उति समाजसेवाको आवश्यकता पर्नु स्वभाविक हो । स्वभाविक आवश्यकताहरु पूरा गर्न गैरसरकारी स्तरमा चाहे व्यक्तिगत होस् वा संस्थागत पहलकदमी हुनु पनि स्वभाविक हो । तर यहाँनेर समाजसेवाले राज्यको विकल्प दिन खोजेको अवस्था छ ।

“राज्यले राम्रो क्रिकेट रङ्गशाला बनाउन नसकेको कारण” भन्ने जो नाराको रुपमा धुर्मुस–सुन्तली फाउन्डेसनले युवाहरुमा जोडतोडले उठाइरहेको छ । त्यसको सन्देश भनेको राज्य असक्षम भयो, राज्यको विकल्प चाहियो भन्ने नै हो । राज्यले नसक्ने काम एउटा व्यक्ति वा समूहले गर्नसक्छ भन्ने देखाउनु नै हो । यसको समग्र सन्देश राज्य असफल भयो भन्ने हो । समाजसेवा राज्यको सहयोगी हो, विकल्प हुनै सक्दैन।