अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली सीमा रक्षा गर्न सरकार गम्भीर छ : परराष्ट्रमन्त्री ज्ञवाली

नेपाली सीमा रक्षा गर्न सरकार गम्भीर छ : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं- दार्चुलामा महाकाली नदीमा सीमा मिचेर भारतले पर्खाल बनाउन थालेकोमा नेपाल सरकारले कडा आपत्ति जनाएको छ । सो पर्खालको वास्तविकता पत्ता लगाउन सरकारले भारतसँग संयुक्त अध्ययनको प्रस्ताव पनि पठाएको छ ।

साेमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभामा बोल्दै सीमा मिचिएको समाचार आएपछि सरकार गम्भीर भएको बताउनुभयो । गत पुस २२ मा नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा, परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधि सम्मिलित टोलीले स्थलगत अध्ययन गरेको जानकारी उहाँले दिनुभएको छ ।

सो टोलीले दुवै देशको समन्वयमा नापजाँच गर्नुपर्ने प्रस्ताव राखेको थियो । त्यसपछि नेपालले भारतसँग पत्राचार गरेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

अब १२ अप्रिलमा दुवै देशको नापी टोलीले स्थलगत अध्ययन गर्ने र त्यहाँ पर्खाल ठीक ढंगले बनेको छ/छैन अन्तर्राष्ट्रिय सीमा पालना भएको छ कि छैन भन्ने बारेमा अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो ।

नेपालले आफ्नो सीमा तदारुकतासाथ सुरक्षा गर्ने उहाँले बताउनुभयो । सीमा मिचिएको विषयमा सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको र सरकार अत्यन्त सजग रहेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले १२ अप्रिलमा नेपाल-भारतका नापी टोली मिलेर स्थलगत अध्ययन गरेपछि मात्र त्यसको काम अगाडि बढ्ने बताउनुभयो । भारतले बनाउदै गरेको सुरक्षावालहरू नेपालको सीमालाई मिचेर बनाइएको भन्ने कुरा आए पछि नापी विभागको टोली त्यसतर्फ गएको थियो ।