अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख सापकोटालाई कसरी लाग्यो ज्यान मुद्दा ?

सभामुख सापकोटालाई कसरी लाग्यो ज्यान मुद्दा ?


काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा आज सर्वोच्च अदालतको पेशीमा चढ्ने भनेर व्यापक चर्चा छ । सभामुख जस्तो भिभिआईपी पदमा बसेका मान्छेलाई के कस्तो मुद्दा लागेको होला भनेर धेरैले जिज्ञासा पनि राखेका छन् । हुन त सापकोटा सभामुख हुने बेलामा पनि अदालतमा ज्यान मुद्दा छ भनेर गाईंगुईं चलेकै हो ।

के रहेछ त सापकोटा विरुद्धको मुद्दा । यस विषयमा नेपाली बहस डटकमले सोधखोज गर्दा सापकोटाविरुद्ध मुद्दा हाल्ने नौ जना मानवअधिकारकर्मी मध्ये एक जनाले उहाँहरूले हालेको मुद्दाको प्रति पठाइदिनुभयो । उक्त पत्रका आधारमा सापकोटाले माओवादी शसस्त्र युद्धका बेला २०६२ साल वैशाख १६ गतेका दिन एक जना सर्वसाधारणलाई अपहरण गरेर हत्या गर्न निर्देशन दिएको आरोप गरिएको छ ।

पत्रमा लेखिएअनुसार काभ्रेको साविक छत्रेबाँझ गाविसको श्रीकृष्ण माविको प्रांगणबाट २०६२ साल वैशाख १६ गतेका दिन अर्जुन लामालाई अपहरण गरेर लगेको हो ।

लामालाई झण्डै तीन महिना बन्धक बनाएर सोही वर्षको असारको दोस्रो साता बुढाखानी गाविस क्षेत्रमा हत्या गरेको उल्लेख छ । हत्या गर्नमा सभामुख सापकोटाले प्रत्यक्ष निर्देशन दिएको भनेर श्रीमती पूर्णीमाया लामाले किटानी जाहेरी दिनुभएको हो ।

उक्त मुद्धा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउने भनी २०६४ साल असार २६ गते जिप्रका काभ्रेले दरपीठ गरेको पत्रमा उल्लेख छ ।

सापकोटा २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री नियुक्त भएपछि मानव अधिकारकर्मीहरूले ज्यान मुद्दाका दोषीलाई मन्त्री बनाएको भन्दै खनाललाई समेत विपक्षी बनाएर मुद्दा दर्ता गर्नुभएको थियो । यसरी मुद्दा दर्ता गर्नेहरूमा  सुशील प्याकुरेल, कपिल श्रेष्ठ, कनकमणि दिक्षित, गोपाल शिवाकोटी चिन्तन, सुबोध प्याकुरेल, चरण प्रसाईं मन्दिरा शर्मा हुनुहुन्छ । उहाँहरूको तर्फबाट अधिवक्ता सुनिल रंजन सिंहले बहस गरिरहनु भएको छ ।

गत वर्ष सापकोटा सभामुखमा नियुक्त भएपछि त्यसमा असहमति जिनाउँदै राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले राजीनामा गर्नुभएको थियो ।