अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी कमिटीहरूलाई कोरोना विरुद्धको लडाइमा खटिन प्रम ओलीको निर्देशन

पार्टी कमिटीहरूलाई कोरोना विरुद्धको लडाइमा खटिन प्रम ओलीको निर्देशन


काठमाडौं- नेकपा एमालेले कोभिड-१९ विरुद्धको लडाईंमा खटिन पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको एमाले दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले सो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्रीसमेत रहनुभएका एमाले प्रवक्ता ज्ञवालीले बैठक कोरोनाको पछिल्लो अवस्थाबारे केन्द्रित रहेको बताउनुभयो । ‘बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले कोभिड-१९ विरुद्धको लडाईंमा सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्न निर्देशन दिनुभयो,’ प्रधानमन्त्रीको भनाइ उदृद गर्दै ज्ञवालीले भन्नुभयो ।

पछिल्लो समय देखिएको कोरोना खतनाक खालको रहेको भन्ने निष्कर्ष पनि बैठकले निकालेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।कोभिड-१९ को नयाँ भेरियन्ट देखिएकाले यसको रोकथाम अभियानमा कसरी पार्टी परिचालन गर्ने भन्नेबारे प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले शनिबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग भएको छलफलबारे पनि जानकारी गराउनुभएको ज्ञवालीले बताउनुभयो ।

‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ, भारतीय डबल म्युटेन्ट छिटो फैलन खालको रहेछ, ट्रिपल म्युटेन्ट पनि भित्रिएको पाइकाले उच्च सतर्कता अपनाएर काम गर्नुपर्छ भन्ने कुरा भयो,’ ज्ञवालीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले अस्पतालमा अहिले भएका संक्रमितमध्ये धेरै अक्सिजन दिनुपर्ने भएका पाइएको सीसीएमसीको ब्रिफिङबारे पनि बताउनुभएको ज्ञवालीले जानकारी दिनुभयो ।

अहिलेसम्म अक्सिजनले धान्ने तर संक्रमित बढे अक्सिजन अपुग हुने भएकाले त्यसको भण्डारण बढाउने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।

‘संक्रमित यसैगरी बढे गाह्रो हुने भएकाले अक्सिनको मात्रा बढाउने, नयाँ सिलिण्डर किन्ने, खोपको मात्रा बढाउने कुरा प्रधानमन्त्रीले सुनाउनुभयो,’ ज्ञवालीले भन्नुभयो ।

संक्रमण बढेको यो अवस्थामा सिंगो पार्टी पंक्ति यसकै परिचालन हुने बैठकको निष्कर्ष रहेको बताउदै उहाँले भन्नुभयो, ‘पार्टीका सबै कमिटीले जिल्लाजिल्लामा हेल्प डेस्क राख्ने, क्वारेन्टिन बनाउन सहयोग गर्ने, विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्ने, बिरामीलाई अस्पतालसम्म पुर्‍याउने, गाउँगाउँमा सचेतना अभियान चलाउने छन् ।’

बैठकमा लकडाउनको विषयमा छलफल भएपनि तत्काल देशव्यापी लकडाउन नगर्ने सरकारको मनस्थिति रहेको ज्ञवालीले सुनाउनुभयो ।

देशव्यापी लकडाउन नगर्ने र सरकारले जारी गरेका आदेश नै कडा रूपमा पालना गराउन लाग्ने निष्कर्ष बैठकले निकालेको उहाँले बताउनुभयो । तर, कोरोनाको हटस्पट बनेका ठाउँमा लकडाउन गर्न सकिनेबारे पनि छलफल भएको ज्ञवालीले बताउनुभयो ।