अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आत्तिनु पर्दैन, औषधि अभाव हुँदैन : विभाग

आत्तिनु पर्दैन, औषधि अभाव हुँदैन : विभाग


काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) बाट सिकिस्त भएकाहरूलाई रेम्डिसिभिर औषधिले रामवाणको काम गर्ने कतिपयको विश्वास छ । नेपालमा पनि रेम्डिसिभिरको व्यापक माग छ । तर, यसको मुख्य उत्पादक भारतले भने रेम्डिसिभिर निर्यातमा रोक लगाएको छ ।

अब नेपालले कहाँबाट ल्याउँछ रेम्डिसिभिर? औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार भारतले निर्यातमा रोक लगाए पनि नेपालमा बंगलादेशबाट रेम्डिसिभिर आयात भइरहेको छ ।

‘अहिले औषधि अभाव भएको छैन । अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्व तयारी भने गरिरहेका छौँ’

‘रेम्डिसिभिर बङगलादेशमा पनि उत्पादन हुन्छ । हामीले बंगलादेशबाट आयात गर्न अनुमति दिइसकेका छौँ,’ उहाँले भन्नुभयो ।

महामारीको बेला औषधि अभाव हुने हो कि ? अहिले कतिपयले यस्तो चिन्ता गरिरहेका छन् । तर, औषधि व्यवस्था विभागले भने महामारीका बेला कुनै पनि औषधिअभाव नहुने भन्दै ढुक्क हुन आग्रह गरेको छ ।
‘अहिले औषधि अभाव भएको छैन । अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर पूर्व तयारी भने गरिरहेका छौँ,’ सूचना अधिकारी सन्तोषले भन्नुभयो ।

महामारीले कस्तो रूप लिन्छ भनी पूर्वानुमान गर्न गाह्रो हुने उहाँले बताउनुभयो । भारतमा कोभिड-१९ महामारी नियन्त्रण बाहिर गएको अवस्थामा पनि त्यहाँबाट नेपालमा औषधि आयात भइरहेको उहाँले बताउनुभयो । ‘भारतको अवस्था विकराल बने पनि औषधि आयातमा कुनै अवरोध छै’ अधिकारीले भन्नुभयो ।

गत वर्ष महामारी सुरू हुँदा भारतले धेरै औषधि निर्यातमा रोक लगाएको थियो । तर, अहिले त्यसो गरेको छैन, रेम्डेसिभिरलाई मात्र रोक लगाएको छ । यसकारण पनि औषधि अभाव नहुने उहाँले बताउनुभयो ।

कोभिड0१९ को महामारी सँगै एन्टिबायोटिक औषधिको प्रयोग बढेको छ । रुघाखोकी, ज्वरो, निमोनिया, दम बढ्ने, प्रेसर आदि कोभिडको लक्षण भएकाले सिम्टम्याटिक औषधिको खपत बढेको उहाँले बताउनुभयो ।

औषधिको लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गर्दै आएको र भारतबाट आयात गर्न नसकिए पनि चीनबाट आयात गर्न सकिने उद्योगीहरूले विभागलाई जानकारी दिएको उहाँले बताउनुभयो । औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थकेही महिनालाई पुग्ने मौज्दात भएको उहाँले जानकारी दिनुभयो ।

नेपालले भारतभन्दा चीनबाट धेरै कच्चा पदार्थ ल्याउने जानकारी दिँदै उहाँले चीनमा अवस्था सामान्य भएकाले चिन्ता गर्न नपर्ने तर होसियार भने बन्नपर्ने बताउनुभयो ।

विभागले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय, गृह मन्त्रालय, औषधि उत्पादक, आयातकर्ता तथा अन्य सम्वद्ध पक्षसँग निरन्तर छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

जताततै लकडाउन भएकाले औषधि वितरण प्रणालीलाई भने सुधार्नुपर्ने र त्यसमा आफूहरू लागिरहेको बताउनभुयो ।

औषधिमा कालोबजारी हुन सक्ने कुरालाई ध्यानमा राखेर अनुगमनलाई व्यापक बनाउने तयारी समेत गरेको उहाँले जानकारी दिनु भयो । तर, औषधिमा कालोबजारी खासै सम्भव नहुने उहाँले बताउनुभयो । मानिसहरूले आत्तिएर अत्यावश्यक औषधि जम्मा गरेकाले गत वर्ष केही समस्या आएको भन्दै उहाँले यस पटक त्यस्तो नहुने बताउनुभयो ।

नेपालमा औषधि सस्तो भएकाले नक्कली औषधी बजारमा नआएको पनि उहाँले दावी गर्नुभयो । विगतमा एक पटक सिप्रोफ्लोक्सासिन ट्याब्लेट नक्कली आएको, त्यसपछि बजारमा कुनै पनि नक्कली औषधि नआएको उहाँले दाबी गर्नुभयो ।

अनुगमनमा विभागले कडाई गरिरहेको उहाँले जानकारी दिनुभयो ।