अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश प्रमुखबाट हटाइदा दुःख लागेको छैन : अमिक शेरचन

प्रदेश प्रमुखबाट हटाइदा दुःख लागेको छैन : अमिक शेरचन


काठमाडौं- गण्डकी प्रदेश प्रमुख पदबाट मुक्त हुनुभएका अमिक शेरचनले हटाइँदा आफूलाई दुःख नलागेको बताउनुभएको छ ।

आफू पार्टीको इमान्दार कार्यकर्ता भएकोले पार्टीको निर्देशन पालना गरेर प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको उहाँले बताउनुभयो । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालभरि कुनै गल्ती नगरेको बताउनुभयो । ‘म पहिला नै राजीनामा बोकेर बसेकोे मान्छे, हटाइएकोमा कुनै दुःख छैन,’ शेरचनले भन्नुभयो ।

आफूले पदमा बस्दा कुनै असंवैधानिक काम नगरेको उहाँले बताउनुभयो ।

शेरचनलाई सोमबार सरकारले प्रदेश प्रमुखबाट हटाएको थियो । उहाँको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सीता पौडेललाई नियुक्त गर्नुभएको छ ।

आफूलाई राजनीतिक कारणले प्रदेश प्रमुखबाट हटाइएको जस्तो नलागेको शेरचनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस पदमा आएपछि मैले संवैधानिक मर्यादा पूर्ण पालना गरेको थिएँ, कुनै पनि पार्टी विशेषको प्रभाव र छायाँमा काम गरिनँ, सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियमअनुसार निर्णय गरेर पठाएँ । माननिय सांसदहरूको जेजे प्रस्ताव आए, त्यसलाई पनि संवैधानिक व्यवस्थाअनुसार निर्णयार्थ सम्पादन गर्ने गरेको थिएँ ।’

आफूलाई कुनै काम गर्न वा नगर्न कतैबाट पनि दबाब नआएको उहाँले दाबी गर्नुभयो ।

अस्थिरताले कसैको हित नगर्ने बताउँदै उहाँले मेलमिलापबाट अघि बढ्न जोड दिनुभयो । गण्डकी प्रदेशको पछिल्लो घटनाक्रममा भने त्यो भूमिका खेल्न नपाउँदै आफू हट्नु परेको उहाँको भनाइ छ ।

आफूले आह्वान गरेको प्रदेश सभा बैठक नटुंगिदै आफ्नो विदाई भएको उहाँले बताउनुभयो । ‘अब नयाँ आउने प्रदेश प्रमुखले मिलाउनुहोला, सर्वदलीय बैठक गर्न पाएको भए निकास निकाल्न सकिन्थ्यो कि भन्ने लागेको थियो, तर मैले त्यो अवसर पाइनँ,’ शेरचनले भन्नुभयो ।

आफ्नो कार्यकाल अत्यन्त सुखद रहेको उहाँले बताउनुभयो । देश कोभिडले ग्रस्त भएको बेलामा पार्टीपार्टी बीचको फूट र सत्ताको लुछाचुँडी हुनु भने दुःखद भएको शेरचनले बताउनुभयो । निरंकुशता विरुद्धको हिजोको आन्दोलन सबै राजनीतिक दल मिलेर मात्र सफल भएको उहाँले स्मरण गराउनुभयो ।

राजनीतिक एकताले मात्र सामन्तवादी व्यवस्था अन्त्य भएको नबिर्सन उहाँले राजनीतिक दलका नेतालाई आग्रह गर्नुभयो ।