अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव गुटको प्लानका ए, बी, सी, डी

माधव गुटको प्लानका ए, बी, सी, डी


काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपालको गुटले केपी शर्मा ओली सरकारले विश्वासको मत लिँदा के गर्ने भन्ने विषयमा विभिन्न प्लान बनाएको छ । ‘हामीले प्लान ए, बी, सी, डी सबै बनाएका छौँ, परिस्थिति हेरेर कुन प्लान लागू गर्ने भन्ने निर्णय गर्छौँ ।’

माधव गुटका सांसदहरूका अनुसार सो गुटले जनता समाजवादी (जसपा)को निर्णय कुरिरहेको छ । जसपाभित्र सरकार समर्थक महन्थ ठाकुर पक्षले कति सांसद तान्न सक्छ, त्यस आधारमा निर्णय लिइने माधव गुटका सांसदहरूको भनाइ छ ।

‘जसपामा महन्थहरूले बहुमत पुराए, उपेन्द्र-बाबुरामहरूले पार्टी फुटाउन पनि सकेनन्, फ्लोर क्रस पनि नगर्ने भए भने हामीले सांसद पदबाट राजीनामा गर्नुको अर्थ हुँदैन,’ माधव गुटका नेताहरूको भनाइ छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लिखित रूपमा आफूहरूको उद्दार गर्ने ग्यारेन्टी गरे मात्र माधवकुमार नेपाल पक्षधर सांसदहरूले राजीनामा गर्ने भएका छन् ।

स्रोतका अनुसार माधव नेपालले राजीनामा दिनुपरेको परिस्थितिमा आफ्नो समूहमा लागेका सांसदहरूको उद्दारको ग्यारेन्टी माग गर्नुभएको हो । एमालेको माधव गुटका एक सांसदले भन्नुभयो, ‘हामी सहिद बनेर उहाँहरूलाई सरकारमा पुर्‍याउन तयार छौँ, तर, हामीले के पाउँछौँ?’

राजनीतिमा ‘गिभ एण्ड टेक’ हुने बताउँदै उहाँले भन्नुभयो, ‘अहिलेको लडाईंमा जिते पनि हारे पनि कांग्रेस र माओवादीलाई धेरै फरक पर्दैन तर एमालेमा विद्रोह गरिरहेका हाम्रो भने राजनीतिक जीवन नै समाप्त हुन्छ ।’

वैशाख २७ नजिकिँदै जाँदा राजनीतिक कित्ताकाटको सबैभन्दा कठिन प्रसव वेदना नेकपा एमालेको माधवकुमार नेपालको गुटमा देखिएको छ ।

‘हाम्रो राजनीतिक जीवनको रेस्क्यू हुने विश्वसनीय कार्ययोजना उहाँहरूले दिनुहुन्छ भने हामी सांसद पदबाट राजीनामा दिन तयार छौँ’

वैशाख २७ बाट प्रतिनिधि सभाको अधिवेशन सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन अधिवेशन डाक्नुभएको हो

‘विश्वासको मत दिँदा हारेको ठहरिने, नदिँदा राजनीति समाप्त हुने’ अवस्थामा सो गुटमा लागेका सांसदहरू फसेका छन् ।

‘हाम्रो राजनीतिक जीवनको रेस्क्यू हुने विश्वसनीय कार्ययोजना उहाँहरूले दिनुहुन्छ भने हामी सांसद पदबाट राजीनामा दिन तयार छौं,’ माधव गुटका सांसदले भन्नुभयो ।

माधव गुटले विश्वासको मतको पक्षमा बहुमत पुग्न नदिन जति संख्यामा सांसद चाहिन्छ त्यतिले मात्र राजीनामा दिने एउटा प्लान बनाएको छ । माधव गुटको अर्काे प्लान हो- बैठकमा अनुपस्थित हुने । त्यसबाहेक अर्को पनि प्लान छ- क्रश भोटिङ गर्ने । माधव गुटले प्रदेशहरूमा यो रणनीति अपनाउँदै आएको छ । जानकार स्रोतहरूका अनुसार यी कुनै रणनीतिमा पनि गुटभित्र एक मत छैन ।

माधव गुटको अर्काे प्लान हो- केपी ओलीलाई धम्काउने, थर्काउने र ‘ब्ल्याकमेलिङ’ गर्ने हो । सो गुटका सांसदहरूले ‘हामी समाप्त हुने हो भने एमाले पनि भत्काइदिन्छौँ’ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

सो गुटले सदनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुहुँदा जुनसुकै प्लान लागू गरे पनि त्यो प्लानको उद्देश्य हुनेछ- एमालेलाई भत्काउने, समाप्त पार्ने ।