अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नगरपालिकाको गाडीलाई अहिले एम्बुलेन्स बनाएका छौँ : उपमेयर भण्डारी

नगरपालिकाको गाडीलाई अहिले एम्बुलेन्स बनाएका छौँ : उपमेयर भण्डारी


काठमाडौं- भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम कोभिडको केन्द्र बनेको छ । कोभिड संक्रमण बढ्दै गएपछि स्थानीय सरकार पनि त्यसको तयारीमा जुटेका छन् ।

सोही तयारी अनुसार डडेल्धुराको अमरगढी नगरपालिकाले उपप्रमुख संगिता भण्डारीले चढ्दै आएको जीपलाई नै तत्काललाई एम्बुलेन्स बनाएर नागरिकको सेवामा प्रयोगमा ल्याइएको छ ।

अमरगढी नगरपालिकासँग एउटा पनि एम्बुलेन्स थिएन । एम्बुलेन्स नहुँदा बिरामी ओसार्न गाह्रो हुने भएकाले यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । ‘तत्काल एम्बुलेन्स खरिद गर्ने बजेट पनि भएन, प्रक्रिया पनि लामो हुने रहेछ, हाम्रो गाडी छँदै थियो, त्यही गाडीलाई अहिले एम्बुलेन्स बनाएका छौँ, पहिला नागरिकलाई बचाऊँ, गाडी त पछि चढौँला नि,’ उपप्रमुख भण्डारीले भन्नुभयो ।

नगरपालिकाले एम्बुलेन्सको रूपमा कार्यालय गाडी प्रयोग गर्ने निर्णय मात्र गरेको छैन, नगरपालिकाको टिपरलाई तत्काललाई शव वहानको रूपमा प्रयोग गर्नेगरी तयारी अवस्थामा राखिएको छ । ‘आफैँसँग भएका स्रोतसाधनको प्रयोग गरेर रोगसँग लड्ने तयारी गर्दै छौँ,’ उहाँले भन्नुभयो ।

अन्य जिल्ला र डडेल्धुराका पनि विभिन्न पालिकाबाट मानिस जम्मा हुने भएकोले अमरगढीमा संक्रमित दिनहुँ बढ्दै छन् । जिल्ला सदरमुकाम भएकोले त्यसै पनि मानिसको चाप छ । बुधबार साँझसम्म नगरपालिकामा १ सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ । थप स्वाब परीक्षणको लागि पठाइएको छ । ‘संक्रमण बढ्दो छ, परीक्षण गरिएकामध्ये ६० देखि ६५ प्रतिशतलाई संक्रमण देखिएको छ,’ संक्रमणको अवस्थाबारे उपप्रमुख भण्डारीले भन्नुभयो ।

रोग नियन्त्रण र उपचारको लागि नगरपालिकाले थप तयारी पनि सुरू गरेको छ । नगरपालिकाको अक्सिजनसहितको आफ्नै आइसोलेसन बनाउने बुधबार मात्रै निर्णय भएको छ ।

त्यस्तै, संक्रमितको उपचारको लागि २० लाख रुपैयाँको कोष स्थापना गरिएको छ । ‘संक्रमण लम्बिँदै गयो र दीर्घरोगीले औषधि किन्न निस्कन नसक्ने अवस्था आयो भने नगरपालिकाले नै औषधि किनेर घरघरमा पुर्याउने योजना बनाएको छ ।

अहिले कोरोना पुष्टि भएका व्यक्तिको अवस्था त्यति धेरै गम्भीर नरहेको पनि उहाँले बताउनुभयो । ‘हाम्रो नगरपालिकामा दुई/तीन जनाबाहेक अरू त्यति धेरै सिरियस हुनुहुन्न, लक्षण देखिए पनि अहिले उहाँहरू होम आईसोलेसनमा बस्नु भएको छ, तर कुनै पनि बेला बिरामी बढ्न सक्छन् भनेर हामीले तयारी गरिरहेका छौँ,’ उपप्रमुख भण्डारीले भन्नुभयो ।

जिल्ला सदरमुकामको अस्पतालमा धेरै पाहाडी जिल्लाका बिरामीसमेत आउने भएकोले बिरामीको चाप हुने उहाँले जानकारी दिनुभयो । अस्पतालमा भेण्टिलेटरका बेड भरिएका छन् । अक्सिजनको प्लाण्टले काम नगरेको अस्पतालले जानकारी दिएपछि अक्सिजन उपलब्ध गराउन नगरपालिकाले सहयोग गर्ने भएको छ । ‘जिल्ला अस्पताको मात्र भर परेर हुने अवस्था छैन, त्यसैले नगरपालिका पनि तयारीमा लागेको छ,’ उपप्रमुख भण्डारीले भन्नुभयो ।