अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव पक्षका सांसदको राजीनामा प्रकरण

हामी पार्टी बनाउन लागेका छौँ, उहाँहरू भत्काउन : सुवास नेम्वाङ

हामी पार्टी बनाउन लागेका छौँ, उहाँहरू भत्काउन : सुवास नेम्वाङ


काठमाडौं- नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरू पार्टी बनाउन लागेको माधव नेपाल समूह पार्टी भत्काउन लागेको बताउनुभएको छ ।

नेपाली बहस डट कमसँग कुरा गर्दै नेता नेम्वाङले पार्टी भत्काउने उहाँहरूको प्रयास धेरै पहिलादेखि कै भएको बताउनुभयो ।

‘हामी निरन्तर छलफल र वार्ताबाट समस्याको समाधान खोज्न लागेका छौँ । माधव कमरेड वातावरणलाई बिग्रान लागि पर्नु भएको छ,’ नेम्वाङले भन्नुभयो, ‘सहमतिका लागि हामीले छलफल गर्दैगर्दा उहाँले फेसुबकमा के-के लेख्नुभयो तपाईंहरूलाई थाहै छ ।’

आफूहरूले सहमतिको प्रयास जारी राख्दै गर्दा पनि नेपालले यो वार्ता काम लाग्दैन, छलफलको अर्थ छैन भनेर निरुत्साहित पारिरहेको नेम्वाङको भनाइ छ ।

‘सांसदहरूको राजीनामा के नयाँ कुरा भयो र हामी राम्रो बनाउन लागि रहन्छौँ उहाँहरू भत्काउन लागिरहनु भएको छ,’ नेम्वाङले भन्नुभयो । सांसदहरूले राजीनामाको हल्ला दुई महिनादेखि नै चरिरहेको उहाँको भनाइ छ ।

आज पनि नेपाल पक्षसँग छलफलका लागि प्रयास भइरहेको नेम्वाङले बताउनुभयो । ‘हामी प्रयास गरिरहेका छौँ । एक/दुई जना साथीहरू भत्काउन लाग्नु भएको छ । हेरौँ कसरी अगाडि बढ्छ ।’