अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

याङ्ग्री र लार्केमा तत्काल काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

याङ्ग्री र लार्केमा तत्काल काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल काम थाल्न निर्देशन दिनुभएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनासम्बन्धी अद्यावधिक जानकारी लिएपछि उहाँले तत्काल काम थाल्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कामसमेत तत्कालै थाल्न निर्देशन दिनुभयो ।

उपत्यकावासीको लामो समय अघिदेखिको सपना पूरा गर्दै गएको चैत २१ गते देखि औपचारिक रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो । यद्यपि अहिले उपत्यकामा मेलम्चीको पानीको वितरण रोकिएको छ ।

प्राविधिक आवश्यकताअनुसार अब सुरुङको पानी पूरै खाली गरेर कुनै समस्या आएरनआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिने छ । मन्त्रालयकाअनुसार अब सुरुङलाई पूरै खाली गर्न झन्डै १० दिन, परीक्षणका लागि केही दिन र पूरै पानी भर्न १५ दिन गरी झन्डै एक महिना समय लाग्ने छ ।

त्यस अवधिका लागि अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचनाअनुसार पानी वितरण गरिने जानकारी मन्त्रालयका अधिकारीहरूले दिएका छन् ।

अहिले मेलम्चीबाट न्यूनतम प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि काठमाडौं उपत्यकामा कुल ५१ करोड लिटर पानी झार्न सकिन्छ ।