काठमाडौं- साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित हुनुभएका गणेशकुमार पहाडी आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा उहाँले सो मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।
नवनियुक्त मन्त्री पहाडी वि.सं २०७४ को निर्वाचनमा सिन्धुली-१ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।
नेकपा (एमाले) को नवौँ महादिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उहाँ दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । त्यसअघि उहाँ वि.सं २०५४ मा खाङसाङ गाविसमा अध्यक्षका रुपमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
पार्टीमा उहाँ वि.सं. २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुभएको थियो । वि.सं २०३९ मा अनेरास्ववियु एकता (पाँचौँ) बाट राजनीति शुरु गर्नुभएका उहाँ वि.सं. २०४८ मा नेकपा (एमाले) को सिन्धुली काठमाडौं सम्पर्क मञ्चको संयोजक समेत हुनुभयो । वि.सं २०६५ मा जिल्ला कमिटी सचिव र वि.सं २०६६ मा जिल्ला संयोजक हनुभएको थियो ।
स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका उहाँ दुवै पटक सांसद् हुँदा प्रतिनिधिसभाको विकास समितिको सदस्य हुनुभएको थियो ।
यसअघि गत पुसमा प्रधानमन्त्री ओलीले गर्नुभएको मन्त्रिपरिषद् विस्तारमा गणेश सिंह ठगुन्नाले सो मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।







प्रतिक्रिया