अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निषेधाज्ञा खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने तयारी थाल्न मन्त्री नेम्वाङको निर्देशन

निषेधाज्ञा खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने तयारी थाल्न मन्त्री नेम्वाङको निर्देशन


काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खुल्नेबित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न निर्देशन दिनुभएको छ ।

मन्त्री नेम्वाङले पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिनुभएको हो ।

नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरूको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उहाँले बताउनुभयो ।

‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरिसकेका छौँ । यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौँ । कोभिड महामारीले बाधा पुर्‍याएको छ । अध्यादेश ल्याउने, जिएम नियुक्ति गर्ने लगायत कानुन व्यवस्थित गरिसकेका छौँ,’ मन्त्री नेम्वाङले भन्नुभयो, ‘रेल स्वयम् ल्याइसकेपछि, सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिसके पछाडि अब नीतिगत, व्यवहारिक, प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ । यस्तो अवस्थामा लकडाउन खोल्न वित्तिकै हामीले त्यहाँ रेल सञ्चालन गर्नुपर्छ । त्यहाँका जनताहरुलाई रेलको सेवा प्रदान गर्नुपर्छ । १५ गतेभित्र रेल चलाउने तयारीमा लाग्नुस् ।’

मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनका लागि तयारी गर्न तथा नदी नालाहरूमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानी जहाज कार्यालयलाई पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘नदी नालामा साना वोटहरु हाम्रा नदी नालामा सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदारुकताका साथ ध्यान दिन अनुरोध गर्न चाहन्छु ।’

मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने कुरा पनि स्पष्ट पानुभयो । खुवालुङको सम्बन्धमा उठेका जन आवाजलाई ध्यान दिने उहाँको भनाई छ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर गर्न नखोजेको कुरा स्पष्ट पार्न पनि उनले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘खुवालुङको सम्बन्धमा उठेको जन आवाजलाई ध्यान दिएका छौँ । खुवालुङको संरक्षण गर्दै त्यसलाई नचलाइकन गर्दैछौँ । त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर हामीले गर्न खोजेको होइन ।’

आगामी दिनको कार्ययोजना स्पष्ट रूपमा बनाएर काममा लाग्न पनि उहाँले पानीजहाज कार्यालयलाई निर्देशन दिनुभयो ।