काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले निर्वाचन आयोग पूर्वाग्रही भएको टिप्पणी गरेको छ ।
महन्थ ठाकुरसहित चार जना नेतालाई गरेको कारबाही अस्वीकार गरेपछि उपेन्द्र यादव निर्वाचन आयोगप्रति खनिनुभएको हो । ‘उक्तनिर्णयले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको हाम्रो निष्कर्ष छ । निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
यादवले ४ जना पदाधिकारी एवम् कार्यकारिणी समिति सदस्यहरूलाई कार्यकारिणी समितिको बैठकको बहुमतद्वारा निष्कासन गरी सोको अभिलेख अध्यावधिक गर्नका लागि माग गरेकोमा त्यस तर्फ कुनै निर्णय नै नदिई निर्णयविहीन रहनुका साथै आफ्नो जिम्मेवारी, संवैधानिक र कानुनी दायित्वबाट पन्छिएको प्रस्ट भएको यादवको भनाइ छ । ‘निर्वाचन आयोगको उक्त निर्णयले राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४ र जसपा, नेपालको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बङ्ग्याई अपब्याख्या गरी पार्टी विधान विपरीत काम गर्ने, दलको आचार संहिता पालना नगर्ने, अराजक एवम् अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपले बैधानिकता दिन खोजिएको जस्तो देखिन्छ । जुन कार्य विधि सम्मत देखिदैन,’ यादवद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
निर्वाचन आयोगले गरेका काम कारवाही विरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने यादवको भनाइ छ ।
यसैबीच, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेर कानुन र लोकतन्त्रको धज्जी उडाएको आरोप लगाउनुभएको छ । ‘संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ। जसपा (जनता समाजवादी पार्टी) बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ। नेकपाको बारेमा पनि यस्तै गरिएको थियो। अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो,’ श्रेष्ठले मंगलबार सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘साथै, राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ।’
प्रतिक्रिया