अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक खुलाउन आफैं खटिए जनप्रतिनिधि र सिडियो

सडक खुलाउन आफैं खटिए जनप्रतिनिधि र सिडियो


म्याग्दी– म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकखण्ड यही असार १ गतेदेखि अवरुद्ध बनेको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न आइतबार जिल्लाका सरोकारवाला आफैँले श्रमदान गरेका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, नेपाली सेनाको अर्थुङ्गे गुल्मका सेनानी र सशस्त्र प्रहरीको गलेश्वर आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङको नेतृत्वमा सुरक्षाकर्मीहरु सडक मर्मतका लागि फापरखेत पुगेका थिए ।

प्रशासक र सुरक्षाकर्मीसँगै तातोपानी र बाबियाचौरका जनप्रतिनिधि र सर्वसाधारण पनि श्रमदानमा सहभागी भएका थिए । नेपाल प्रहरीका २२, नेपाली सेनाका १४ र सशस्त्र प्रहरीका १३ सहित स्थानीयवासीले पहिरोले भत्काएको ठाउँमा ग्यावियन पर्खाल बनाउन श्रमदान गरेका हुन् ।

पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–दरवाङ सडक आयोजनाको ठेकेदार लामा–समानान्तर जेभीको दुई वटा स्काभेटर पनि सडक खुलाउन परिचालन भएको थियो । मङ्गला–२ सिमको पहिरोमा पनि फापरखेतमा जस्तै सुरक्षाकर्मी र स्थानीयवासीले श्रमदान गरेका हुन् । पूर्वाधार विकास कार्यालयले एउटा स्काभेटर परिचालन गरेको छ ।

फापरखेतको घुमाउनेमा सडक मर्मत गरेर बेनीदेखि सिमसम्म हलुका सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको प्रनाउ राईले बताउनुभयो । जिसस प्रमुख, प्रजिअ र सुरक्षा अधिकारीहरुले महत्वका साथ आफैँ उपस्थित भएर सडक खुलाउन प्रयास गर्नुभएको हो । यसअघि बेनी–दरबाङ सडक आयोजनाको दोस्रो प्याकेजको ठेकेदार बिरुवा क्याराभान जेभीले मालिका गाउँपालिकाको बाङ्गे पहिरोमा खसेको पहिरो पन्छाएर दरबाङदेखि तोराखेतसम्मको सडकमा यातायात सञ्चालन गराइएको थियो ।

यसैगरी बेनी–जोमसोम सडकको बेनी–६ जलेश्वर, रघुगङ्गा गाउँपालिकाको चमेरेलगायत ठाउँमा खसेको पहिरो बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीको स्काभेटर परिचालन गरेर हटाई साँझ बेनीदेखि भुरुङ–तातोपानीसम्म यातायात सञ्चालन गराइएको छ । अन्नपूर्ण गाउँपालिकाको रुप्से र मुस्ताङको सिमाना काभ्रेभिरमा खसेको पहिरो पन्छाउने कार्य जारी छ ।

म्याग्दीमा नयाँ पुस्तक भित्रियो

कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थाका बीच म्याग्दीमा नयाँ पाठ्यपुस्तक भित्र्याइएको छ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेसँगै पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सामुदायिक विद्यालयको पुस्तक भित्र्याएका छन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरास्थित क्षेत्रीय कार्यालयसँग समन्वय गरेर कक्षा १ देखि १० सम्मको पुस्तक आयात गरिएको महासङ्घका अध्यक्ष नवराज पौडेलले बताउनुभयो । “जिल्ला शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कको आधारमा म्याग्दीलाई पुग्ने पुस्तक ल्याएका छौँ”, उहाँले भन्नुभयो, “प्रतिकक्षा एक हजार ७०० देखि रु दुई हजार सेटको हाराहारीमा पुस्तक ल्याएका छौँ ।”

विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएर विद्यालय नखुले पनि घरमै बसेर पढ्ने वातावरण बन्ने अपेक्षा गरिएको छ । भौगोलिक विकटता र प्रविधिको पहुँच नभएका ठाउँमा अनलाइनको माध्यमबाट पठनपाठन सञ्चालन गर्न चुनौती छ ।

विद्यार्थीले घरमै बसेर पढ्ने, अभ्यास गर्ने, सिकाइ वृद्धि र विद्यालय खुलेपछि व्यवस्थापन गर्न सहज हुने भएकाले निषेधाज्ञामै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन लागिएको हो । महासङ्घले पुस्तक वितरणलाई व्यवस्थित बनाउन बेनीमा बिक्री केन्द्र स्थापना गरेको छ ।

टाढाका विद्यालयलाई प्राथमिकता दिएर पुस्तक वितरण शुरु भएको छ । पुस्तक अभाव र पूर्ण सेटमा नपाउने समस्या हुन नदिनका लागि शैक्षिक सत्र शुरु हुनुअघिनै ढुवानी र वितरण गरिने पुस्तक व्यवसायी ठाकुर शर्माले बताउनुभयो ।

कक्षा ५ देखि १० सम्मका लागि जनक शिक्षा सामग्रीबाट रु ७६ लाख बराबरको र कक्षा १ देखि ४ सम्मको निजी प्रकाशन गृहबाट रु ३६ लाख बराबरको पुस्तक खरिद गरिएको छ । दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा पुस्तक खरिदमा यस वर्ष रु एक करोड १२ लाख खर्च हुने बताइएको छ ।

एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । कोरोनाको जोखिम तथा लम्बिँदो निषेधाज्ञाले तत्कालै विद्यालय खुल्ने सम्भावना नभए पनि पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययनको वातावरण बन्ने बताइएको छ ।