अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखाको मालु अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात

दोलखाको मालु अस्पतालका चिकित्सक र कर्मचारीमाथि हातपात


दोलखा- जिल्लाको तामाकोशी गाउँपालिका-४ मालुमा सञ्चालित मालु कोभिड अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि गयराति हातपात भएको छ ।

राति १२ बजे स्थानीय केही युवाले मदिरा सेवन गरेर अस्पताल प्रवेश गरी डा. रोविश कार्की र कार्यालय सहयोगी टोपहादुर मिजारलाई हातपात गरेको वडा नं ४ का वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार अस्पताल परिसरमा प्रवेश गरी कोभिडबाहेक अन्य बिरामीको समेत उपचार गर्नका लागि दवाव दिँदै चिकित्सकमाथि हातपात भएको थियो ।

बन्द ढोका नाघेर प्रवेश गरेका ती युवालाई अस्पतालमा कोरोनाका बिरामी रहेको कारण भित्र प्रवेश नगर्न भनेको र केही समस्या भएमा आफूले कोभिड बिरामीभन्दा छुट्टै परीक्षण गराउने बताउँदा पनि एक्कासि आफूमाथि हातपात गरेको डा. कार्कीले बताउनुभयो ।

चार युवाले आफूहरूमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा कर्मचारी भागेर बसेको जनाइएको छ ।

अभियुक्त तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मालुका गोपाल तिमिस्सिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको र कानूननुसार कारवाही गरिने दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताउनुभयो ।