काठमाडौं- राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइनअनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयल जनाएको छ ।
आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झौता हुन बाँकी रहेको निर्देशनालयका प्रमुख अर्जुन अर्यालले बताउनुभयो । उहाँका अनुसार हालसम्म २२ पुल निर्माणाधीन छन् भने र २१ पुल ठेक्का हुन बाँकी छ ।
निर्माण सुरु हुन बाँकी पुलमध्ये अहिले सात पुलका ठेक्का भइसकको र चार वटा ठेक्का सम्झौताका लागि सूचना निकाल्ने चरणमा थियो ।
ती बाहेकका अरू पुलसमेत ठेक्का निकाल्ने क्रममा भए पनि निषेधाज्ञाका समयमा ठेक्का निकाल्न नपाइने सर्वोच्च अदालतको निर्णयका कारण अघि बढ्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई/चार वटा पुलका ठेक्का निकाल्ने तयारी भए पनि कोभिड र निषेधाज्ञाको कारणले सकिएको छैन ।’
चालू आवमा सो आयाजनामा अहिलेसम्म तीन पुल मात्रै सम्पन्न भएको छ । त्योभन्दा धरै सङ्ख्यामा सम्पन्न गर्न लक्ष्य भएपनि विभिन्न समस्याका कारण लक्ष्यअनुसार नभएको उहाँले बताउनुभयो । हाल निर्माणाधीन २२ पुलमध्ये सात सक्ने लक्ष्य भए पनि त्यसअनुसार प्रगति नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अझै पनि मसान्तसम्ममा केही सङ्ख्या थपिनसक्छ ।’
मध्यपहाडीका विभिन्न जिल्लालाई जोड्ने सो राजमार्गलाई देशको मध्यपाहाडको विकासको आधारमा रूपमा सरकारले अघि बढाएको छ । पूर्व-पश्चिम (महेन्द्र) राजमार्ग, हुलाकी राजमार्ग पछि पूर्वदेखि पश्चिम जोड्ने तेस्रो राजमार्गका रूपमा यो राजमार्ग रहेको छ । पाँचथरको चियो भञ्ज्याङबाट सुरु भएको बैतडीको झुलाघाटसम्म रहेको छ । राजमार्ग निर्माणसँगै नयाँ शहर विकास हुने अपेक्षा गरिएको छ ।
आव २०७९/८० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनामा अझै कतिपय स्थानमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने माग भइरहेको छ ।
पुल निर्माणका लागि दुईतीन वर्ष समय लाग्ने भएकाले लक्ष्यअनुसार समयम सम्पन्न गर्न बाँकी स्थानमा सडक र पुल निर्माणका लागि प्रक्रिया अघि बढाइनुपर्ने सडक विभागले बताउँदै आएको छ । रासस







प्रतिक्रिया